महोत्तरीमा सिङ्घारा खेतीमा आकर्षण बढ्दो

Ad
  • कालोपाटी सम्बाददाता

महोत्तरी । थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएपछि महोत्तरीका किसान सिङ्घारा खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी हुने देखेपछि अहिले महोत्तरीको सदरमुकाम जलेश्वर र वरिपरिका सयौं बिघा पानी जमेको जग्गामा अहिले सिङ्घारा फल खेती गरिएको छ ।

जमेको पानीमुनी लहरामा फल्ने सिङ्घारा एक प्रकारको गुलियो फल हो । यो स्वास्थ्यका लागि फाइदाजनक र पौष्टिक भएकोले स्थानीयस्तरमा निक्कै लोकप्रिय रहेको छ । यसवर्ष जिल्लामा पटक–पटक गरी भएको भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा ठूलो मात्रामा काँडेदार गुलाफी रङगका सुन्दर र मीठो फल सिङ्घारा खेती गरिएको छ ।

कम मेहनेत र थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले जलेश्वर र वरिपरिका धेरै किसान यसपाली सिङ्घारा खेतीतर्फ आकर्षित भएको जलेश्वर– ६ का किसान नथुनी मुखियाले बताउनुभयो ।

यसैबीच बसौँ देखि बाँझो रहेको जलाशयमा पनि यस वर्ष लगाइएको सिङ्घारा खेतीमा स्थानीय १५० बढी घरपरिवार लागेको जलेश्वर– १ का किसान रामजी मुखियाले बताउनुभयो । मीठो र लोकप्रिय सिङ्घारा प्रत्येक वर्ष असोज महिनादेखि नै तयारी हुन्छ भने स्थानीय बजारमा प्रतिकिलो रु ६० देखि ८० मा बिक्री हुने गरेको छ । यसबाट आफूहरुले प्रत्येक वर्ष राम्रो आम्दानी गर्ने गरेको जलेश्वर– ४ का किसान बिल्टु सहनीले बताउनुभयो ।

मिथिालाञ्चल भरि पूजाआजामा प्रसादको रुपमा समेत प्रयोग हुने सिंघारा बालबालिका, बुढापाका र पेटका रोगीहरुले बढी मन पराउने गर्दछन् । साधारणतया जोसुकैले पनि वर्षमा एकचोटि बजारमा आउने यो मीठो फल खाने गरेको जलेश्वर ११ का किसान नसिम राईनले बताउनुभयो ।

किसानले स्थानीय बजारदेखि सीमापारीका भारतीय बजारमा लगेर पनि सिङ्घारा बेचेर प्रतिकिसान दुई÷तीन लाखसम्म आम्दानी गर्ने गरेको जलेश्वर– ७ का किसान बुधवा मुखियाले बताउनुभयो । स्थानीय कृषि कार्यालयसँग जलेश्वरमा सयौँं बिघामा हुने गरेको सिङ्घारा खेतीबारे कुनै अभिलेख रहेको छैन् ।

तर जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले सिङ्घारा खेतीलाई प्रवद्र्धन गर्नुपर्ने र मौसमी उद्योगकै रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले यस फलको खेती गर्ने किसानका लागि उद्योग वाणिज्य सङ्घले आउदा दिनमा विशेष प्याकेजसहितको कार्यक्रम ल्याउने सोंच राखेको समेत बताउनुभयो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्