बागलुङ कालिका भगवती गुठीमा चार करोडको कोष

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालिका भगवती गुठीमा रु चार करोड २३ लाखको कोष जम्मा भएको छ । गुठी व्यवस्थापन समितिले कालिका मन्दिर परिसरमा करोडौँ रुपैयाँ बराबरको विकास निर्माण गरेर पनि उक्त कोष जम्मा गरेको हो ।

भक्तजनले चढाएको भेटीबाट कोष जम्मा गर्न सकेको समितिले जनाएको छ । गुठीले भक्तजनबाट प्राप्त भेटी व्यवस्थापन गर्दैआएको छ । खर्च कटाएर उक्त रकम बचत गरेको हो । नौवर्षे कार्यकाल सकेर बिदाइ हुनुभएका गुठीका अध्यक्ष राजु खड्काले उक्त हिसाब विवरण सार्वजनिक गर्नुभएको हो । खड्का अध्यक्ष हुनुअघि सञ्चालक समिति र पुजारीले सबै भेटी डालोमा हालेर लैजाने गर्थे । उहाँ अध्यक्ष भएपछि भेटी सार्वजनिक गर्ने चलन सुरु भएको हो । गुठीमै लेखापाल राखेर दोहोरो हिसाब राख्न थालेपछि मन्दिर क्षेत्रमा विकास निर्माणका काम हुन थालेका छन् । कर्मचारी व्यवस्थापन र कोषसमेत सञ्चालन हुन थालेको हो ।

कोष बनेपछि कालिका मन्दिर जाने ७०० मिटर बाटो ढलान गरेर ढुङ्गा छाप्ने कामसमेत भएको छ । पूजा तथा बलि व्यवस्थापन, मन्दिरको छाना तामाले छाउने र नयाँ सत्तल निर्माण भएको छ । ती सबै व्यवस्थापनका लागि चार वर्षमा रु १० करोड बढी खर्च भएको खड्काले जानकारी दिनुभयो । कालिका भजन समूह निर्माण, मन्दिर नजिकै वन्यजन्तु उद्यान निर्माण, भ्यूप्वाइन्ट निर्माण र बलि व्यवस्थापन गरिएको छ ।

कालिका भगवती मन्दिर तथा पूजा व्यवस्थापनबाहेक पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना समेत निर्माण गरिएको छ । गुरुयोजनामा धर्मशाला, वृद्धाश्रम, सवारी पार्किङ, मालढुङ्गाबाट कालिका मन्दिर जाने लिफ्टसमेत बनाइने उल्लेख छ । वैज्ञानिक वन व्यवस्थापन पनि गुरुयोजनामा समावेश छ । गुठीले आगामी २०८० साललाई ‘कालिका दर्शन वर्ष’ घोषणा गरेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्