बुइपामा प्रहरी चौकीको भवन निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

दिक्तेल ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित बुइपामा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयको रु दुई करोड दुई लाख लगानीमा सो भवन निर्माण गरिएको हो ।

उक्त भवनको प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मङ्गलबार उद्घाटन गर्नुभयो । गोरखा–रुजन जेभी काठमाडौँले  २०७६ असार १७ गते सम्झौता गरेर तोकिएकै समयमा दुई तले सो भवन निर्माण सम्पन्न गरेको हो । नवनिर्मित प्रहरी चौकी भवनमा महिला÷पुरुष हिरासत, कार्यालय प्रमुख तथा जवानका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ ।

भवन उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक बिसीले जनमैत्री प्रहरी सेवा र कानूनको परिधिमा रही जनचाहनाबमोजिमको सेवा प्रदान गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभयो । अपराध अनुसन्धान गर्न आवश्यक जनशक्ति प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराउने उहाँको भनाइ थियो । “कुनै हालतमा दोषी उम्कनु भएन”, बिसीले भन्नुभयो ।

सहरी विकास तथा भवन डिभिजन कार्यालयको लगानीमा गत वर्ष बुइपा, च्यास्मिटार र रतन्छामा प्रहरी चौकी भवन निर्माण थालिएको हो । बुइपासँगै च्यास्मिटारमा निर्माण गरिएको भवन सम्पन्न भएर हस्तान्तरण गरिएको छ । रतन्छामा भवन निर्माणाधीन अवस्थामा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख अनुज श्रेष्ठले जानकारी दिनुभयो । भवन उद्घाटन कार्यक्रममा सहभागी बुइपाका स्थानीय बासिन्दाले प्रहरी चौकी बुइपामा दरबन्दीअनुसारको प्रहरी र सवारी साधन उपलब्ध गराउन प्रहरी नायब महानिरीक्षक बिसीलाई अनुरोध गरेका थिए । बिसी प्रहरी चौकी बुइपाको भवन उद्घाटनपछि जिल्ला प्रहरी कार्यालय दिक्तेलको निरीक्षण गरेर मङ्गलबार भोजपुर फर्किनुभयो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्