कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा गएराति आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ । शिवराज नगरपालिका– ५ चन्द्रौटा चोकदेखि एक सय मिटरदेखि पश्चिममा रहेका दुई पसलमा राति करिब १० बजे आगो लागेको स्थानीयवासीले बताएका छन् ।
चन्द्रौटा फिक्स शप र सँगै रहेको ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगालागी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । आगलागीबाट दुवै पसलका सबै सामग्री नष्ट भएका छन् । दुवै पसलमा गरी ९० लाखको क्षति भएको अनुमान रहेको छ ।
फेन्सी पसलको रु ५० लाख र कम्प्युटर पसलको ४० लाख बढीको सामग्री जलेको सञ्चालकको भनाइ छ । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली स्थानीयवासी र दमकलको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ ।
आगलागीको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कम्पुटर पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । –रासस