कात्तिक नाचको तेस्रो दिन आज

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने भएको छ ।
हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आज साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । ‘बाथः प्याखँ–कौला खिचा’ अर्थात् बाठा तीन भाइले एक ब्राह्मणलाई सत्य भएर पनि भ्रमित बनाउन सफल भएको विषयमा आधारित नृत्य मञ्चन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।

उनले भने, “यस कथामा सडकको तीन कुनामा छरिएर बसेका तीन बाठा मानिसले एक ब्राह्मणले दानमा पाएको बोका ल्याएको देख्छन् । उनीहरुले त्यस बोका आफूहरुले खाने जुक्तिअनुरुप “ब्राह्मणले कुकुर ल्याए । ब्राह्मणले कुकुर ल्याए ।” भनेर कराउँछन् । ब्राह्मणले, “यो कुकुर होइन् । यो त बोका हो”, भन्छन् । ती तीन व्यक्तिले “होइन, यो कुकुर नै हो ।” भनेर जिद्धी गरेपछि ब्राह्मणले पक्कै यो कुकुर रहेछ भन्दै बाटैमा छाडेर जान्छन् । सो बोका ती तीनै व्यक्तिले मिलेर खान्छन् । यदि धेरै मानिस मिलेर झुटो बोले भने सत्यलाई पनि असत्य बनाउन सकिन्छ भन्ने कुरा नृत्य र नाटकमार्फत दर्शाउन खोजिएको उनको भनाइ थियो ।

यसैगरी बुधबार राति ‘सुदामा प्याखँ’ अनि बिहीबार ‘बाथः प्याखँ–च्वले खुदाँ दाँ खुदाँ’ नाच ठूलो हर्ष र भव्यताका साथ सम्पन्न गरिएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए ।

यस गरिमायम नाचको सर्जक श्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षा गुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई दिइन्छ । कात्तिक नाचको माध्यमद्घारा देशमा आउने विध्नबाधा हटेर शान्ति र सु–व्यवस्था कायम रहने विश्वास गरिन्छ ।

यस नाच थालनी ले सुरुआती चरणदेखिनै जनतालाई एउटै सुत्रमा बाँधेर मनोरञ्जन दिनाका साथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिने रहेको छ । कात्तिक महिनाभर विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु ठूलो विशेषता रहेको छ । कात्तिक नाच प्रथम पटक पाँच दिन प्रदर्शन गरिएको थियो । सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथःप्याखँ’ अर्थात ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिनसम्म सञ्चालन गरिएको जानकार बताउछन् ।

यसैगरी श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई पछि थपेर २७ दिन सञ्चालन गरेका कुरा पनि सुन्नमा आउछ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो ।

यो ललितपुरको मात्र नभइ सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत संस्कृतिको जगेर्ना गर्ने माध्यम पनि बनिरहेको छ । हिन्दूका साथै बौद्धधर्मावलम्बीका लागि पनि अतिनै महत्वपूर्ण सो नाट्य महोत्सव यो वर्ष आठ दिन मञ्चन गरिने भएको छ, भने गतवर्ष मुलुकमा कोरोना महामारी बढेकाले मात्रै दुई दिन देखाइएको थियो ।

सो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा सम्पूर्ण नेपाली सामु रहन सफल भएकोे छ । ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोकेको यस नाचको गरिमा आज पनि उत्तिकै उच्च रहेको समितिका प्रचार विभाग संयोजक सञ्जय शर्मा राजोपाध्यायले सुनाए ।

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार सङ्ग्रहालय परिसरमा सो नृत्य देखाइन्छ । कात्तिक नाच देखाउने पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषित गरिसकेको छ ।

नाच प्रदर्शन गरिने पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रूपमा परिचित काठमाडौँ उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ । सो नाचका अलवा पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइन्छन् ।

पाटनमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निमाण भई विभिन्न विदेशी मुलुकमा निर्यात हुने गरेको पाटन दरबार सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले उल्लेख गरे । कोरोना महामारी न्यूनीकरण भएसँगै र कात्तिक नाच पनि अघि बढेकाले हिजोआज पाटन दरबार क्षेत्रमा बिहानैदेखि मध्यरातसम्म मानिसको भरिभराउ हुने गरेको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले बताएका हुन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्