आयोजनास्थल पुगेरै ठेकेदारलाई ताकेता गर्दै मन्त्री बराल

Ad
  • कालोपाटी सम्बाददाता

गलकोट । निर्माण व्यवसायी सुनिलसिंह खत्रीको मोबाइलमा अज्ञात व्यक्तिको मोवाइलबाट फोन फोन आयो । सुनिल खत्रीले हेलो भन्न नपाउँदै ‘सुनिल जी काठेखोलास्थित बिहुँदेखि तङ्ग्रामहुँदै धम्जा जाने लामाबगर मोटरेवल पुल कहिले बन्छ  ? भन्ने प्रश्न गरियो ।

खत्रीको जवाफ आयो–को बोल्नुभयो हजुर ? “म रामजीप्रसाद बराल बोलेको हो तपाईले ठडाउनुभएको पुलको पिल्लरमाथि उभिएर तपाईलाई फोन गरेको छु, भन्नुहोस् ठ्याक्कै कहिले काममा आउनुहुन्छ, ?  मलाई परिणाम चाहिन्छ, काममा ठिला सुस्ती भयो ।”

एमएस निलगिरी नेशनल जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि खत्रीले मङ्सिरबाट काममा आउछु हजुर भनेर फोन राखे । निर्माण व्यवसायी खत्रीलाई गत जेठदेखि ठप्प रहेको काठेखोलाको लामाबगरबाट फोन गर्ने व्यक्ति थिए गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री बराल ।

उक्त पुल २०७६ फागुन ६ गते गण्डकी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शिलान्यास गरेका थिए । अठार महिनामा सक्नुपर्ने पुलको जम्मा ५० प्रतिशमात्रै काम सम्पन्न भएको गुनासोपछि मन्त्री बराल आयोजनास्थलमै पुगेर ठेकेदारलाई ताकेता गरेएका हुन् ।

“आफै फिल्डमा पुगेर ताकेता गर्दा सकरात्मक प्रभाव पर्ला, कार्यालय प्रमुखलाई त ठेकेदारले ल ल मात्रै भन्छन्” उनले भने ,“ठेकदारले काम नगर्ने परिपाटीलाई अन्त्य गर्न आवश्यक छ, म गण्डकी प्रदेशभरका जिल्ला जिल्लामा स्थलगत निरीक्षणपछि निर्माणलाई गति दिने गरी अगाडि बढ्छु ।”

आठ मिटर चौडाइ र ३० मिटर लम्बाइ रहेको उक्त मोटरेवल पुलको २०७७ साल माघ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ साल साउन २५ गते उक्त कम्पनीले निर्माणको जिम्मा लिएको थियो । सिङ्गल स्पान मोडेलमा निर्माण हुन लागेको पुल रु तीन करोड ३१ लाख ६३ हजार ६७९ मा निर्माण गरी संझौता भएको थियो ।

शिलान्यसका समयमा सम्झौता मितिभन्दा अगावै पुलःनिर्माण गरी सक्ने प्रतिबद्धता जनाएको उक्त कम्पनीले विभिन्न बाहना देखाउँदै निर्माणमा ढिलाइ गर्दै आएको छ । मन्त्री बरालले बागलुङ बसाइँका क्रममा दुई मोटरेवल पुल र दुई सडकको स्थलगत अनुगमनका लागि बागलुङस्थित पूर्वाधार कार्यालयको प्राविधिकसहित आयोजनास्थलमै पुगेका थिए ।

उक्त कार्यालयका प्रमुख गणेश सुवेदीले लामाबगर पुल निर्माणका लागि २०७८ चैतसम्म ठेक्का म्याद थपेर निर्माण व्यवसायीलाई काममा फर्कन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार पुलका दुई पिल्लर ठडाएको र अब पुल ढलानका लागि आवश्यक कच्चा सामग्रीसमेत जोहो भइसकेको छ । मन्त्री बरालले उक्त पुलसहित बागलुङको गलकोट नगरपालिकास्थित नरेठाँटी खोलामा निर्माणधीन मोटरेबल पुल, हरिचौर ताराखोलाहुँदै म्याग्दीको निर्वाचन क्षेत्र नं १ स्थित सडक र रिजालचोकदेखि ताराखोला जोड्ने शहीद मार्ग निरीक्षण गरेएका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्