चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी

Ad
  • कालोपाटी सम्बाददाता

खोटाङ । चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक चाम्लिङ भाषास्रोत शिक्षकको दरबन्दी सिर्जना गरेको छ । उक्त भाषाको अध्यापन गराउने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च पनि उपलब्ध गराइएको छ । सोहीअनुसार वडा नं ८ धितुङस्थित सर्वावती प्राविका लागि हालै प्रावि तहको नगर शिक्षक चाम्लिङ भाषा स्रोत शिक्षकको एकवटा दरबन्दी सिर्जना गरिएको छ ।

नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार उक्त भाषाको शिक्षकका लागि विद्यालय व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आह्वान गरेको थियो । उक्त शिक्षकलाई मासिक १३ हजार ५०० तलब सुविधा उपलब्ध गराइने विद्यालयले जनाएको छ । नगरप्रमुख इवन राईका अनुसार विद्यालयको मागबमोजिम यस्तो दरबन्दी सिर्जना गरिएको हो । एघार वडा रहेको उक्त नगरपालिका–८ स्थित धितुङका सात विद्यालयमा २०६५ सालदेखि चाम्लिङ राई भाषामा पठनपाठन हुँदै आएको छ ।

धितुङमा बुलापन्थे माविमा कक्षा ५ सम्म, सूर्यज्योति माविमा कक्षा ५ सम्म, जनचेतना प्राविमा कक्षा ५ सम्म, सर्वावती प्राविमा कक्षा ५ सम्म, दलित जनजारण प्राविमा कक्षा ५ सम्म, जनकल्याण प्रावि कल्चुडेमा कक्षा ५ सम्म, सर्वावती प्राविमा कक्षा ५ सम्म र पारुहाङशरण प्राविमा कक्षा ३ सम्म चाम्लिङ भाषामा पठनपाठन हुँदैआएको छ । सर्वावती प्राविमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातिका विद्यार्थीले चाम्लिङ भाषाकै विषय अध्ययन गरिरहेका छन् ।

चाम्लिङ भाषाको संरक्षण र सम्वद्र्धनका लागि तत्कालीन गाविसमार्फत शिक्षकलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानीखर्च उपलब्ध गराइएको थियो । शिक्षकको सरुवा हुँदा सूर्यज्योति माविमा दुई-तीन वर्ष उक्त विषयको पढाइ भएको थिएन ।

स्थानीय तह कार्यान्वयनमा आउन अगाडि उक्त भाषा शिक्षकका लागि एक आर्थिक वर्षसम्मका लागि तत्कालीन शिक्षक खम्बराज राईको पहलमा किराँत राई यायोक्खा प्रारम्भिक कमिटि गठन गरी त रु एक लाख बजेट उपलब्ध गराइएकोे थियो । यो नै शिक्षकको प्रोत्साहनका लागि विनियोजन भएको सबैभन्दा ठूलो रकम थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्