सराङकोटमा पर्यटन साहित्य उत्सव सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति वासिङटन डिसीको आयोजनामा पोखरामा एक दिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ । पर्यटकीयस्थल सराङकोटमा आयोजित उत्सवमा कृति लोकार्पण, चर्चा परिचर्चा, रचना वाचनलगायत कार्यक्रम गरिएको थियो ।

साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता उत्सव विभिन्न समय र स्थानमा सञ्चालन गर्दै आएकामा यस पटक पोखराको सराङकोटमा आयोजना गरिएको ‘ट्रस्टिज’ सदस्य ऋषि बरालले बताए । उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ‘ट्रस्टिज’ सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जुनका टुक्राहरू’ नामक अङ्ग्रेजी–नेपाली मुक्तक सङ्ग्रह र अधिकारीकै साधनाको स्वर्णवर्ष पुगेको अवसरमा प्रकाशित ‘साधनाको स्वर्ण वर्षः मुक्तकमणि तीर्थराज अधिकारी’ दुई कृति लोकार्पण गरिएको थियो ।

कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दुवै कृति लोकार्पण गर्दै स्रष्टामा असल भावनाको विकास भए नयाँ कृति प्रकाशनका लागि विषयवस्तु खोज्नु नपर्ने धारणा व्यक्त गरे । स्रष्टाको सम्मान जिउँदैमा हुनुपर्नेमा जोड दिँदै उनले कृतिकार अधिकारीको साधनाको वास्तविक सम्मान भएको बताए ।

अनेसासका केन्द्रीय सल्लाहकार सुमल गुरुङले भाषा, कला र साहित्यको उत्थानका लागि मात्र आफूहरू क्रियाशील नभएर पर्यटन र साहित्यलाई एकै सिक्काका दुई पाटा बनाएर अघि बढेको जानकारी दिए ।डा जगन्नाथ रेग्मीले अधिकारीको जीवनयात्रालाई बुझ्न लोकार्पित कृति सहयोगी हुने धारणा व्यक्त गरे ।कार्यक्रममा सहभागी स्रष्टालाई सम्मान पनि गरिएको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्