लुलाङमा स्वास्थ्य सामग्री सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी ।  भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।

लुलाङ, लमसुङ, खोरिया र मरेनीमा जन्मिएर स्वदेश तथा विदेशमा रहेकाले आर्थिक सङ्कलन गरेर सामग्री उपलब्ध गराएका हुन् । दश लिटर क्षमताको दुई वटा अक्सिजन कन्सन्ट्रेटर, दुई वटा श्यय, दुई थान मुटुको चाल नाप्ने र एक थान रक्तचाप नाप्ने उपकरण प्राप्त भएको वडा अध्यक्ष गमप्रसाद विकले बताए ।यसैगरी लमसुङ माध्यमिक विद्यालयलाई १६ थान प्लास्टिकको कुर्ची पनि उपलब्ध गराइएको छ । लमसुङका भक्त सिङकिजा पुनले प्रवासमा, दिलीप गौचन, दिपक सिङकिजा पुन र बिर्खलाल कुमाईले नेपालमा समन्वय गरेर करिब रु तीन लाख ८० हजार जुटाएका थिए ।

सो रकमबाट स्वास्थ्य उपकरण, कुर्ची खरिद र ढुवानी गरी उपलब्ध गराइएको भक्त सिङकिजा पुनले बताए । लुलाङका वडाध्यक्ष गमप्रसाद विक, स्वास्थ्यचौकीका इञ्चार्ज सविन लामगादे र लमसुङ माविका सहायक प्रअ विमला सिङकिजा पुनलाई कात्तिक २३ गते सामग्री हस्तान्तरण र विदेशमा रहेका ३६ जना सहयोग दाताका परिवारलाई सम्मान गरिएको थियो । गत वैशाख र जेठमा फैलिएको कोरोना भाइरसको महामारीले लुलाङका दुई जनाको ज्यान जानुका साथै धेरै सङ्क्रमित भएका थिए । त्यसबेला स्वास्थ्यचौकीमा कोरोना सङ्क्रमितको उपचारका लागि पर्याप्त उपकरण नहुँदा समस्या भएको थियो ।

त्यसैलाई मध्यनजर गरेर उपकरण खरिद गर्न सहयोगका लागि अपिल गरिएको थियो । यसैगरी लमसुङ माविमा फर्निचरको अभाव भएपछि कुर्ची उपलब्ध गराउन पनि अभियानलाई जोडिएको थियो । उपकरण प्राप्त भए पनि विद्युत्को अभावमा प्रयोगमा ल्याउन सकिएको छैन ।

लुलाङमा विद्युत् आपूर्ति गर्ने दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह र नहर गत भदौ २१ गतेको बाढीले बगाएको थियो । केन्द्रीय प्रसारण लाइन नपुगेको र लघु जलविद्युत् परियोजना बन्द भएकाले स्वास्थ्य उपकरण प्रयोगमा ल्याउन समस्या भएको हो । बयालिस किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको नहर, बाँध र खबाङको विद्युत्गृह बाढीले बगाएपछि लुलाङका ३६५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य छन् । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारित साना उद्योग ठप्प भएको छ ।

सोलार नभएका उज्यालोका लागि टुकी बाल्न बाध्य छन् । विसं २०७६ कात्तिकमा रु एक करोड ५२ लाखको लागतमा परियोजना निर्माण भएको थियो । यसअघि विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्युत्गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो । लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो । दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिराका कारण लमसुङका भबहादुर पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना, पलु पुन, मनप्रसाद सुनारको घर र स्वास्थ्यचौकीको भवन जोखिममा परेको छ ।

जुगेपानीको पहिरो रोकिए पनि तलबाट नयाँ पहिरो सिर्जना भएपछि स्थानीयवासी चिन्तित भएका छन् । पहिरो नियन्त्रण र केन्द्रीय प्रसारण लाइनको विद्युत बिस्तार गर्न लुलाङवासीले माग गरेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्