पर्यटन प्रवद्र्धनका लागि बङ्गलादेश पाटा च्याप्टर टोली नेपालमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । दुई देशीय नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एशोसिएशन पाटा नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एण्ड बिटुबी एक्सचेन्ज कार्यक्रम’ आयोजना गरेको छ ।

नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत गन्तव्य प्रवद्र्धनदेखि व्यावसायिक साझेदारि एवं प्रवद्र्धनका विषयमा छलफल हुनेछ । पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायी मङ्गलबार नेपाल आएका हुन् । उक्त टोलीमा बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभर्सिटिका स्टुडेन्स च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पर्यटन प्रवद्र्धन अन्तर्गत हुन लागेको बिटुबी बिजनेश टु विजनेश सम्झौताका लागि यो टोली नेपाल आइपुगेको पाटा नेपालले जनाएको छ ।

कार्यक्रमका अवसरमा नोभेम्बर १७ देखि १९ सम्म प्रसिद्ध पर्यटकीय क्षेत्र पोखराको परिचयात्मक भ्रमण आयोजना गरिएको छ । उक्त प्रयोजनका लागि भ्रमण टोली आजै पोखरा गएको छ । पोखरा पर्यटन परिषदसँगको सहकार्यमा पोखराको परिचयात्मक भ्रमणसँगै सरोकारवाला व्यवसायीसँग अन्तक्र्रिया गरिने आयोजक पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले जानकारी दिए । उनका अनुसार काठमाडौँमा बिटुबी कार्यक्रम आयोजना गरिनेछ । ‘डेस्टिनेशन इनसाईड’बारे प्रस्तुितकरण हुनेछ ।

नेपाल र बङ्गलादेशबीचको पर्यटन प्रवद्र्धन अन्तर्गत आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन, सशक्तीकरण र व्यावसायिक सम्भावनाका विविध आयामबारे छलफल गरिने सिइओ बुडालले बताए । उक्त कार्यक्रमको हस्पिटालिटी पार्टनर केजिएच ग्रुप, एभरेष्ट होटल, होटल अलफट काठमाडौँ र याडिसन होटल छन् । रोयल माउन्टेन ट्राभल ट्रान्सपोर्ट पार्टनर रहेको छ । नेपाल पर्यटन बोर्ड प्रवद्र्धक तथा हिमालय एयरलाइन्स पार्टनर रहेको छ । कोभिड–१९का कारण तत्काल ‘लङ हल रुट’ अन्तर्गतको गन्तव्यमा पर्यटन प्रवद्र्धन हुन कठिन देखिएपछि क्षेत्रीय पर्यटन प्रवद्र्धनको आवश्यकता रहेको बङ्गलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमीदले बताएका छन् । ।

उनले कोभिड महामारीले थलिएको पर्यटन प्रवद्र्धनका लागि नयाँ सोच र अवधारणा अन्तर्गत क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड दिइएको उल्लेख गरे । मुलुकको पर्यटन प्रवद्र्धनका लागि आन्तरिकसँगै क्षेत्रीय पर्यटन प्रवद्धलाई मुख्य जोड दिएको पाटा नेपालका सिइओ बुडालले बताए । उनले भने , “सन् २०२२का लागि पाटाको मुख्य उद्देश्य भनेकै क्षेत्रीय सहकार्य गर्ने हो ।”

आन्तरिक पर्यटन मुलुकको पर्यटनको मेरुदण्ड हो । योसँगै अव विदेशी पर्यटकलाई पनि आकर्षक गर्ने बेला आइसकेको छ । अमेरिका, युरोपलगायत मुलुकबाट पर्यटक भित्र्याउन अझै पनि गाह्रै देखिन्छ । “अहिलेको प्राथमिकता भनेको ‘सर्ट हल फ्लाइट’ हुने अन्तर्राष्ट्रिय बजार नै हो”, उनले भने । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलङ्का, भुटान, म्यान्मारलगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको उनले जानकारी दिए । – रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्