स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७-७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख ४९ हजार १०९ पुगेको छ । व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७२६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३८३ छन् । आव २०७७-७८ मा दुई लाख ४५ हजार ५६१ व्यावसायिक करदाता र पाँच लाख १७ हजार ३८३ व्यक्तिगत करदाता थपिएका छन् ।

कोरोना महामारीको प्रतिकूलताका बाबजुद पनि राजस्व असुलीमा ९५।३२ प्रतिशत प्रगति भएको विभागले जनाएको छ । आव २०७७-७८ मा रु ४२९ अर्ब २० करोड राजस्व असुली भएको थियो । यो आव २०७६-७७ को तुलनामा ११।६४ प्रतिशतले बढी हो । आव २०७७-७८ मा रु ४५० अर्ब ३४ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो ।

आव २०७७-७८ मा मूल्य अभिवृद्धि करतर्फ रु तीन खर्ब दुई अर्ब १६ करोड लक्ष्य निर्धारण गरिएकामा रु दुई खर्ब ८७ अर्ब छ करोड असुली भएको छ । यस्तै सोही अवधिमा रु दुई खर्ब ७७ करोड आयकर र रु एक खर्ब ३४ अर्ब नौ करोड अन्तःशुल्क सङ्कलन भएको छ ।

आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको कूल बेरुजु रु ४९ अर्ब ६१ करोड ४९ लाख १५ हजार रहेकामा गत आवमा रु २८ अर्ब ८६ करोड २६ लाख ९६ हजार फछ्र्योट भएको विभागले जनाएको छ । गत आवमा मूल्य अभिवृद्धि करतर्फ रु ३७ हजार ८६८ करदाता दर्ता भएको र हालसम्म दुई लाख ६८ हजार ४३६ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको विभागले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्