चापीनी नदी बगरमा औद्योगिक ग्राम बन्ने

Ad
  • कालोपाटी सम्बाददाता

सर्लाही । हरिवन नगरपालिकाले वडा नम्बर ११ स्थित चापीनी नदी बगरमा औद्योगिक ग्रामको बनाउने भएको छ ।

नगर प्रमुख गणेश प्रसाईंले नगर क्षेत्रमा औद्योगिक क्षेत्र प्रवद्र्धन गर्न औद्योगिक ग्राम बनाउन लागिएको जानकारी दिए । आइतबार सो ग्रामको शिलान्यास गर्दै उनले औद्योगिक ग्रामबाट स्थानीय रोजगारी सिर्जना तथा आन्तरिक आयस्रोत समेत बृद्धि हुने जानकारी दिए ।

‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’अन्र्तगत हरिवनमा सो औद्योगिक ग्राम बन्न लागेको हो । यसका लागि सङ्घीय सरकारले गत आर्थिक वर्षमा विनियोजित रु एक करोड बिनियोजन समेत गरेको थियो । सो रकमबाट जग्गा व्यवस्थापन, पर्खाल लगाउने र खोला नियन्त्रणको काम सकिएको इञ्जिनियर जकी अहमद सिद्दकीले बताए । उनका अनुसार अब सो जमिनमा स्थानीय उत्पादनमुखी र स्थानीयलाई रोजगारी सिर्जना हुने खालका व्यापार व्यावसाय गर्न जमिनलाई नगरपालिकाले भाडामा लगाउने छ ।

करिब आठ बिघा क्षेत्रफलमा स्थापना हुन लागेको औद्योगिक ग्राममा यस क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न सहज हुने बताइएको छ । साथै हरिवनको आर्थिक विकासमा मद्दत पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडालले बताए ।

एउटै छानामुनि विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन हुँदा स्थानीलाई आफ्नो उत्पादन कहाँ बिक्री वितरण गर्ने र बजार नपाउने चिन्ता हट्नुको साथै किनमेल गर्न धेरैतिर धाउनुपर्ने बाध्यता हट्ने नगरपालिकाले विश्वास लिएको छ । नदीले कटान गरेको जमिनको सदुपयोग गर्दा कृषियोग्य तथा वनको जमिन सुरक्षित रहने मात्र नभई कलकारखाना स्थापनाले बेरोजगारीको समस्यासमेत हल जनाइएको छ । सो औद्योगिक ग्राम प्रदेश २ कै नमूना बन्ने विश्वास गरिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्