राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा लिङ्देनले उम्मेदवारी दिने घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन्  ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका प्रभावशाली नेता धवलशम्शेर राणासँगको सहकार्यमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हो । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का एक मात्र सांसद लिङ्देनले पार्टीलाई बचाउनका लागि उम्मेदवारी दिएको बताए । राप्रपाले उठाउँदै आएको राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको लिङ्देनले बताए । उनले  राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा बाध्यता भएको बताएका छन् । राप्रपाको समाप्ति रोज्नु कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्प मध्ये दोस्रो विकल्प रोज्नुपरेको लिङ्देनले बताउए । आफूहले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुने र अध्यक्षहरु पनि समाप्त हुने बताए ।

लिङ्देनले आफूहरूले राप्रपामा विद्रोह पनि नगरेको र अध्यक्षत्रयविरुद्ध पनि नउभिएको बताए । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीविरुद्ध उठ्न कसैले आँट नगरिरहेको अवस्थामा आफू अगाडि बढेको लिङ्देनको भनाइ थियो । आफूहरूले अहिलेसम्म अध्यक्षत्रयको आदेश मानेको तर अब आफै अगाडि बढ्नुपर्ने अवस्था आइलागेको उनले स्पष्ट पारे । त्यस्तै पार्टीको वर्तमान नेतृत्वलाई सहज रूपमा नेतृत्व हस्तान्तरण गर्न र अभिभावकीय भूमिकामा रहन पनि लिङ्देनले आग्रह गरे । पार्टीमा सबै पक्षलाई समेटेर अगाडि बढ्ने लिङ्देनको भनाइ छ ।

त्यस्तै सोही कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशम्शेर राणाले राप्रपाको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पार्टीमा आफू भन्दा सक्षम लिङ्देन रहेकाले आफू एक कदम पछि हटेर लिङ्देनलाई अध्यक्षमा समर्थन गरेको जानकारी दिए ।

हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा‍. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष छन् । कमल थापाले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भइसकेको छ भने अन्य दुई अध्यक्ष मौन बसेका छन् । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्