राहुघाट नदीमाथि पक्की पुल निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल बनाएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिको राहुघाट नदीमा बनेको पुलमा सवारीसाधन सञ्चालन गरिएको जानकारी दिए ।

“रङगरोगन, पहुँचमार्गलाई अन्तिम रुप दिन र संरक्षणको केही बाँकी रहे पनि पुल सञ्चालन योग्य भएपछि सवारीसाधन आवतजावतका लागि खुला गरेका छौ”, उहाँले भन्नुभयो, “ठेकेदारले बाँकी काम सकेर हस्तान्तरण गर्ने तयारी छ ।” गलेश्वरको पुल बनाउन कालिका–गजुरमुखी जेभीले विसं २०७४ असारमा रु छ करोड २४ लाख तीन हजार ८२५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताको म्याद विसं २०७६ चैत २६ गते सकिएको थियो ।

सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सञ्चालक सचिन क्षेत्री मजदूर र आपूर्तिकर्तालाई भुक्तानी नगरी विसं २०७६ फागुनदेखि सम्पर्कविहीन बनेपछि विसं २०७७ मङ्सिरदेखि जिम्मा लिएका मूल ठेकेदारले पूर्णता दिएका हुन् ।

सहायक ठेकेदारले अधकल्चो बनाएको पुल निर्माणमा कोरोना भाइरसको महामारी, बन्दाबन्दी, निषेधाज्ञा र बाढीपहिराका कारण ढिलाइ भएको गजुरमुखी निर्माण कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो । छ्यहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकअन्तर्गत रघुगङ्गा–१ र अन्नपूर्ण–७ को सिमानामा पर्ने महभिर, अन्नपूर्ण–६ र २ को सिमाना पोखरे बगरस्थित कालीगण्डकी नदीमा पनि दुई वटा मोटरेबल पुल निर्माण सकिएको छ ।

भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले दुई मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल ११-११ मिटर फराकिला छन् । महभिरको पुल सञ्चालनमा आइसकेको छ । पोखरेबगरको पुल जोड्ने पहुँचमार्गको जग्गा विवाद समाधान गरेर सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख प्रजापतिले बताए ।

राहुघाट, महभिर र पोखरेबगरमा यातायात आवतजावतका लागि विसं २०६४ मा निर्माण भएका बेलिब्रिज जीर्ण थिए । धेरै भार भएका सवारीसाधन पुलबाट आवतजावत गराउन समस्या थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्