जुम्लामा छुईगोठमुक्त अभियान

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । सामाजिक विकृतिको रुपमा रहेको छुई प्रथा अन्त्य गर्न जुम्लाका स्थानीय तहमा अभियान थालिएको छ । यहाँको पातारासी गाउँपालिकाभित्रका सात गाउँ छुईगोठमुक्त भएका छन् ।

पातारासी गाउँपालिका– ५ का माथिलोर्प र तलिलोर्प गाउँ छुईगोठमुक्त भएका छन् । सोही गाउँपालिकाको– ४ का लुम र भोटगाउँ छुईगोठमुक्त भएका छन् भने वडा– २ का तल्फी, परे र धोपगाउँ छुईगोठमुक्त भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा संयोजक भगवती गिरीले बताए ।

छुई अर्थात महिनावारी भएका अवस्थामा छुईगोठ वा छुईखुल्लोमा बस्ने यो पुरानै चलन हो । गैरसरकारी संस्था सर्वदीय नेपाल, जुम्ला र पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाले महिला, पुरुष र धामीझाँक्रीलाई सचेतीकरण गर्दै छुई भएको अवस्थामा घरभित्रै बस्ने वातावरण सिर्जना गरेपछि गाउँ छुईगोठमुक्त गर्न थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

महिनावारी तथा रजस्वला भएको बेला घरैमा बस्ने साउनी बोहरा, उनका पति कालु बोहरालाई गाउँपालिकाले सम्मान गरेको छ । यस्तै, वीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई पनि सम्मान गरिएको हो । महिनावारी अर्थात छुई भएको अवस्थामा घरैमा बस्ने तथा अरूलाई बस्न प्रेरित गरेको हौसला मिलोस् भन्ने उद्देश्यका साथ सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत बुढ्थापाले बताउनुभयो । विगतमा दुई जिल्लामा छुइगोठ भत्काइएको थियो ।

रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने गाउँपालिका अध्यक्ष लछिमान अध्यक्ष बोहोराले बताए । कानूनको पूर्णरुपमा पालना हुन नसकेका कारण छाउपडी प्रथा जटिल बन्दै गएको सर्वेदय नेपाल जुम्लाका निर्देशक कमलराज खत्रीले बताए । यसअघि यहाँको तिला गाउँपालिकाले १५ गाउँ छुईगोठमुक्त गरिसकेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्