भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा छ श्ययाको सेवा सुरु गरिएको हो ।

दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको गुनासो आएपछि घाइतेका लागि प्राथमिकता दिएर सो सेवा थालनी गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार दैनिक भरतपुर अस्पतालमा ३० देखि ४० जना दुर्घटनाका घाइते आउने गर्दछन् । सामान्य घाइते सरकारीमा आए पनि जटिल समस्या भएका निजी मेडिकल कलेजमा जाने गरेका छन् ।

उनले भने , “घाइते मेडिकल कलेज जाने शव भरतपुर अस्पतालको शवगृह आउनेक्रम रोक्नका लागि छुट्टै ट्रमा इमरजेन्सी सञ्चालनमा ल्याएका हौँ ।” उनको भनाइमा जिल्लामा निजीमाभन्दा राम्रो सरकारी अस्पतालमा घाइतेको उपचार गर्न सकिन्छ । सिटिस्क्यान मेसिन अस्पतालमा छ भने एमआरआइ माग गरिएको छ । उपचारका लागि विशेषज्ञ चिकित्सक पनि छन् । केही वर्षअघि घाइतेको पहिलो उपचार सरकारीमा गर्नुपर्ने भन्दै लबिङ भए पनि सफल हुन सकेको छैन ।

सरकारले भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन । वार्षिक रु एक करोड ५० लाख हाराहारी बजेट आउने गरेको छ । सो रकमलाई सर्जिकल सामग्री खरिदमा अस्पतालले खर्च गर्ने गरेको पौडेलले जानकारी दिनुभयो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालले निर्माण थालेको ५० श्ययाको आकास्मिक भवनको माथिल्लो तल्लामा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण गर्ने तयारी गरेको जानकारी दिए ।

उनका अनुसार विस्तृत अध्ययन प्रतिवेदनसमेत तयार भएको छ । स्वास्थ्य मन्त्रालयले आकस्मिक भवनका लागि रु नौ करोड विनियोजन गरेको छ । अपुग रकम अस्पतालले थप गरेर माथिल्लो दुई तलामा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउन लागिएको उनले जानकारी दिए ।

चितवन र आसपासका जिल्लाका राजमार्ग, सडकखण्ड र भित्री सडकमा धेरै दुर्घटना हुने गर्दछन् । ती दुर्घटनाका घाइतेलाई यहाँको अस्पतालमा उपचार गरिँदै आएको छ । अधिकारीका अनुसार सरोकारवालासँग छलफल गरेर घाइतेलाई पहिलो बिन्दुका रुपमा भरतपुर अस्पतालमा उपचार गर्ने तयारी गरिएको छ । अस्पतालमा सबै सुविधा भएकाले सरकारीमा असम्भव भए मात्र निजीमा पठाउने गरी सरोकारवालासँग छलफल गरिएको हो । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

उनका अनुसार सङ्घीय अस्पतालमा हुनुपर्ने सबै सेवा प्रवाहका लागि अस्पतालमा काम भइरहेको छ । यसअघि पटकपटक प्रमुख फेरिएका कारण समस्या आएको थियो । अस्पतालले आकस्मिक सेवामा भएका १२ श्ययालाई बढाएर २० श्यया पुर्याएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्