पूर्वराजदूत पौड्यालको समन्वयमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

Ad
  • कालोपाटी सम्बाददाता

गुल्मी । विश्वमा पछिल्लो समयमा फैलिँदै गएको कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढ्न नदिनका लागि गुल्मीका स्थानीयस्तरमा सहयोगदाताहरूले पुनः स्वास्थ्य सामग्री उपलब्ध गराउन सुरु गरेका छन् । यसै अभियानअन्तर्गत नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका पूर्वराजदूत लीलामणि पौड्यालले गुल्मीमा २० थान अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण गरिएका सामग्रीमा गुल्मी अस्पताल तम्घासमा आठ, रिडी स्वास्थ्य केन्द्रमा दुई, धुर्कोटमा दुई, जोहाङमा दुई, श्रृङ्गामा दुई, बम्घामा एक, बलेटक्सारमा एक, मुसिकोट र चन्द्रकोटमा एक÷एक गरी २० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । वितरण गरिएका सामग्री चिनियाँ सहयोगी हातहरूमार्फत चीनका पूर्वराजदूत पौड्यालको पहलमा जिल्लामा भित्र्याइएको हो ।

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै पूर्वराजदूत पौड्यालले कोही पनि नागरिक अस्पताल पुगेर अक्सिजन अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफ्नो पहलमा चिनियाँ नागरिकको सहयोगमा उक्त सामग्री उपलब्ध गराइएको बताए । उनले उपलब्ध सामग्रीलाई स्वास्थ्य संस्थाले भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले चिनियाँ हातहरूले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता प्रकारका सहयोगले स्वास्थ्य संस्थामा थप सहयोग पुग्नुका साथै बिरामी र स्वास्थ्यकर्मीको मनोबलसमेत बढ्दै जाने बताए । कार्यक्रममा स्थानीय पालिकाका अध्यक्ष एवं अन्य जनप्रतिनिधिले जिल्लाको स्वास्थ्य समस्यालाई बुझेर पौड्यालमार्फत चिनियाँ हातहरूले गरेको सहयोगप्रति उच्च प्रशंसा गरेका थिए ।

कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रमको संयोजन युवा समाजसेवी यदु ज्ञवाली र भुवनेश्वर अर्यालले गरेका थिए भने त्यसको सहजीकरण स्थानीय स्वास्थ्य संस्थाहरूबाट गोपालप्रसाद पाण्डे, रामलाल विश्वकर्मा, हरि ज्ञवाली, छत्र अधिकारी, लोकनाथ पाण्डे र रबि कँडेललगायतले गरेका थिए । चिनियाँ सहयोगी हातहरूमार्फत पूर्वराजदूत पौड्यालले यसअघि जिप्रका गुल्मीमार्फत जिल्लामा एक लाख थान मास्क प्रदान गरेका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्