विदुर नगरपालिकाले छ खेलाडीलाई नगदसहित सम्मान

Ad
  • कालोपाटी सम्बाददाता

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले छ खेलाडीलाई नगदसहित आज सम्मान गरेको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रमका अवसरमा दुई वर्षअघि सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद सागका विभिन्न विधाको प्रतियोगितामा पदक विजेता नगरभित्रका खेलाडीलाई नगद र प्रमाणसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

प्रतियोगितामा साइक्लिङमा स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई रु ५० हजार प्रदान गरिएको छ । यस्तै भारोत्तोलनमा रजत पदक विजेता अस्मिता राई, तेक्वान्दोमा रजत पदक विजेता कृष्णबहादुर तामाङ, तलवारमा रजत पदक विजेता अञ्जु तामाङ र जुडोमा रजत पदक विजेता सञ्जीत डङ्गोललाई रु ४० हजार तथा तेक्वान्दोमा कास्य पदक विजेता रेजित रिमाललाई रु ३० हजारसहित नगरप्रमुख सञ्जु पण्डितले सम्मान गरेका हुन् ।

नपाले नगरभित्रका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई पदक विजेता बन्न सफल भएमा नगदसहित सम्मान गर्ने भनेर कार्यपालिकाको बैठकले निर्णय गरेर बनाएको कार्यविधिअनुसार सम्मान गरेको जनाइएको छ । खेलाडीको हौसला बढाउन, उत्साह जगाउन तथा नयाँ उत्पादनका लागि प्रोत्साहन गर्न खेलाडीलाई नगदसहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्