कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप बेहुली झै सिङ्गारियो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक फेरिएको छ । आम सर्वसाधारणको विभिन्न भेला, छलफल र चियागफ तथा भेटघाटको गन्तव्यस्थल बनेको खुला मैदान अहिले रङ्गीचङ्गी तुल, ब्यानरले भरिएको छ । महाधिवेशन उद्घाटनका लागि सो स्थानमा बनाइएको आकर्षक मञ्चले त झनै भृकुटीमण्डपलाई दुलहीझैँ सिङ्गारेको झलक देखिन्छ । हो, अहिले जो–कोहीको ध्यान खिच्ने स्थल बनेको छ कांग्रेस महाधिवेशन उद्घाटनस्थल, बन्दसत्र तथा मतदानस्थल ।

पार्टीका सभापति, महामन्त्री, केन्द्रीय सदस्यलगायत विभिन्न पदका आकाङ्क्षी उम्मेदवारका तुल, ब्यानरले उक्त क्षेत्र झकीझकाउ भएको छ । यसले महाधिवेशनको रौनक थपेको छ । त्यहाँ पुग्ने जो–कोहीले मोबाइलमा तस्वीर कैद गरिरहेका देखिन्छन् धेरैले मञ्चको सेल्फी लिइरहेका भटिए । महाधिवेशन प्रतिनिधिमात्रै होइन, सर्वसाधारणको ध्यान पनि मञ्चले खिचेको छ ।

भृकुटीमण्डपको गेटबाटै सुरु हुन्छ, खचाखच ब्यानर । रुख, खाली स्थान, भित्ता कहीँ खाली ठाउँ छैन सबै उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन् । प्रदर्शनीमार्गको सडकका दुवैतिरका भित्तामा प्रचार सामग्रीले सजिएका छन् । राष्ट्रियसभागृह र महेन्द्र पुलिस क्लब पनि चारतारे झण्डा र प्रचार सामग्रीले रङ्गिएको छ । गेटबाट भित्र झिर्नासाथ चारैतिर ब्यानरले झकिझाउ छ । चारतारे झण्डाले मञ्च सिङ्गारिएको छ । उद्घाटनस्थल मात्रै होइन, बन्दसत्र हुने प्रदर्शनी कक्षभित्र पनि आकर्षकरूपमा सजाइएको छ । भित्रपट्टि पनि छुट्टै मञ्च बनाइएको छ । चार दिनसम्म करिब पाँच हजार कांग्रेसका महाधिवेशन प्रतिनिधिले यो स्थानमा छलफल र बहस गरेर नयाँ नेतृत्व चुन्नेछन् । सोही स्थानभित्र विभिन्न पदाधिकारी र सदस्यका अकांक्षीले सम्पर्क कार्यालय खोलेर प्रतिनिधिलाई आकर्षण गरिरहेका छन् ।

महाधिवेशनमा २०० जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ । राष्ट्रियसभागृहमा कांग्रेसले मतदान गर्न २०० बुथ राख्न लागेकोे नेपाली कांग्रेस काठमाडौँका सचिव गोविन्द पुडासैनीले जानकारी दिए । महाधिवेशनमा सहभागी हुने चार हजार ५०० भन्दा बढी प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ । एक जनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टाभन्दा बढी लाग्ने पुडासैनीले बताए । मङ्सिर २४ गते कांग्रेस महाधिवेशनको उद्घाटन हुने र ७ गते मतदान हुने कार्यतालिका छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्