कांग्रेसले तीनसय बढीलाई मञ्चमा राखेर महाधिवेशनको उद्घाटन गर्ने तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  कांग्रेसले तीन सयभन्दा बढीलाई मञ्चमा राखेर महाधिवेशनको उद्घाटन गर्ने तयारी स्वरुप धमाधम संरचना बनाइरहेको छ । शक्ति प्रदर्शन नगर्ने भए पनि कांग्रेसले मञ्चमा भने तीन स्टेपमा बस्ने व्यवस्था गरेको छ । मञ्च व्यवस्थापनको जिम्मेवारी पाएको कांग्रेस काठमाडौँका सचिव पुडासैनीले ३०० जना बस्ने र ४० जना नाच्ने मञ्च बनिरहेको बताए । उनले मञ्च निर्माणका काम आज साँझसम्म सकिने जानकारी दिनुभयो । विदेशी पाहुना, नेता र कलाकार गरी मञ्चमा तीन स्टेपमा बस्न मिल्ने बनाइएको छ ।

कांग्रेसले महाधिवेशन उद्घाटनस्थललाई भव्य र आकर्षक मञ्च बनाएको छ । सचिव पुडासैनीका अनुसार ८० फिट लम्बाइ र ४० फिट चौडाइको भव्य मञ्च बनाइएको छ । मञ्च बनाउन मात्रै १०० भन्दा बढी कामदार तीन दिनदेखि खटिएका छन् । यस्तै स्वागतगेट तथा प्रचार प्रसारका लागि थप ५० भन्दा बढी जनशक्ति खटिएका छन् ।

रोशन आर्ट सर्भिसले मञ्च बनाइरहेको छ भने सगरमाथा टेन्ट हाउसले टेन्टको व्यवस्था गरेको छ । दुई दिनदेखि दुवै कम्पनीका प्राविधिक तथा मजदुरले धमाधम काम गरिरहेका छन् । मञ्चमा ठूला लाइट तथा माइकको व्यवस्था गरिएको छ । रातिका समयमा पनि कार्यक्रम गर्न सकिने गरी बत्तीको व्यवस्था गरिएको छ । इन्टरनेटको सहजताका लागि महाधिवेशनस्थलमा नेपाल टेलिकमको टावर स्थापना गरिएको छ । मिडिया सेन्टर, सहायताकक्ष तथा विभिन्न होल्डिङ सेन्टरसमेत बनाइएको छ ।

महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका ठमेल, सुन्धारा र गौशलामा गरी तीन ठाउँमा होटल बुकिङ गरिएको छ । त्यहाँ हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङ गरिएको छ ।

समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि खानाको व्यवस्था गर्न लागेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड र बसुन्धराको दियालो फुडल्याण्डमा भोजनको व्यवस्था गरिएको । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म खानाको व्यवस्था गरिएको हो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्