ढोरपाटनमा चिसो बढ्यो, जाडो छल्न बेँसी

Ad
  • कालोपाटी सम्बाददाता

बलेवा । ढोरपाटनमा जाडो बढेपछि ढोरपाटनका बालबालिका चिसो छल्न बेँसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकाले बालबालिका बेबाङस्थित जनवादी विद्यालय र अन्य विद्यालयमा झरेका छन् ।

पशु चरन र आलुखेती गर्न ढोरपाटनमा बसेका अभिभावकसमेत विस्तारै बेँसी झरेका हुन् । उनीहरु चैत लागेपछि मात्रै ढोरपाटन उक्लने गर्छन् । अधिकांश बालबालिका र अभिभावक बेँसी झरिसकेका छन्, केही झर्ने तयारीमा छन् । “मेरा परिवारका सदस्य सबै बेँसी झरिसके, अब म पनि झर्ने तयारीमा छु”, तमानखोला गाउँपालिका–२ का पूर्णबहादुर छन्त्यालले भन्नुभयो, “चिसो बढेपछि ढोरपाटनमा बस्न सकिँदैन ।”

बालबालिका बोबाङमा झरिसकेकाले ढोरपाटनस्थित जनवादी आधारभूत विद्यालय बन्द गरिएको स्थानीय अभिभावक आइते विश्वकर्माले बताउनुभयो । काम विशेषले आफू गाउँमै बसेपछि बालबालिका बेँसी झरिसकेका उनले जानकारी दिए । ढोरपाटनका अधिकांश मानिसको बोबाङ, निसी र बुङ्गादोभानमा जग्गा तथा घर छ । खेतीपातीका लागि उनीहरु गर्मी मौसममा लेकमा जान्छन् भने चिसो बढेपछि बेँसी झर्ने गरेका हुन् ।

बालबालिका बेँसी झरेपछि ढोरपाटनको ज्ञानोदय माविमा पनि विद्यार्थी सङ्ख्या बढेको प्रधानाध्यापक यामबहादुर कायतले बताए । “बालबालिका पढ्न आउँछन्, नआऊ भन्न मिलेन, चिसो समयमा फर्निचर पनि पुग्दैन”, उनले भने , “गर्मी लागेपछि भने उनीहरु ढोरपाटन जान्छन्, विद्यालय सुनसानजस्तै हुन्छन् ।” माथिल्लो कक्षाका बालबालिका अभिभावक नभए पनि घरमै बस्ने भएकाले विद्यार्थी नघट्ने उनले बताए । साना बालबालिका भने अभिभावककै साथमा जाने आउने गर्छन् ।

ढोरपाटनमा अधिकांश किसानले आलुखेती गर्छन् । उक्त आलु भित्र्याएपछि पशु चरन गर्ने र आगामी वर्ष आलु लगाउने योजनामा उनीहरूले बसाइँसराइ गरिरहन्छन् । “आलु उत्पादन गर्ने, बुर्तिबाङमा बेच्ने र जीवन चलाउने गरेका छौँ”, स्थानीय चन्द्रसिंह कुमाइले भने , “आलु नलगाए किसानलाई खानै पुग्दैन ।”

उच्च पहाडी क्षेत्र भएकाले धानखेती भने हुँदैन । ढोरपाटनका जनवादी आधारभूत विद्यालयसँगै ज्योति विकास मावि र सरस्वती प्राविमा पनि बालबालिका घटेका छन् । अत्यधिक जाडो हुँदा अस्थायी विद्यालय नभएकाले पनि बन्द गराउँछन् । बस्ती सुनसान भए पनि ढोरपाटन घुम्नेको सङ्ख्या भने बढेको छ । गुल्मी, पर्वत, बागलुङ, म्याग्दी तथा प्यूठानबाट बढी मानिस घुम्न आउने गरेको वडा नंं ९ का सदस्य पानबहादुर विकले बताए ।

पर्यटक धेरै नै आउँछन्, कतिपयले रमाइलोका लागि आउँछन् भने कतिपयले समूहको अध्ययन अवलोकनस्थल पनि ढोरपाटन बनाउने गरेका छन् । ढोरपाटनमा आउनेले यहाँका सांस्कृतिक पहिचान, लोकगीत सङ्गीत र कला तथा संस्कृतिको पनि खोजी गर्ने गरेको होटल व्यवसायीले बताए । सामुदायिक घरबासमा बस्ने र होटलमा बस्ने पाहुनाले गीतसङ्गीतका लागि दोहोरीको व्यवस्थापन गरिदिनसमेत आग्रह गर्ने गरेको विकले बताए ।

आरक्षमा चिसो बढे पनि कर्मचारी भने नियमित बस्ने गरेको सिनियर गेम स्काउटर वीरबहादुर थापाले बताए । “चिसो, गर्मी भनेर स्थानीय बासिन्दाजस्तो हामी सर्न पाइँदैन, बरु यो बेला हुनसक्ने चोरी सिकारीमा ध्यान दिनुपर्छ”, थापाले भने , “चिसो सहेरै हामी बस्ने गरेका छौँ ।” चिसो बढेपछि फोन तथा इन्टरनेटमा समेत समस्या आउँदा सूचना सञ्चारमा कठिनाइ हुने उनले बताए । यहाँ रहेको नेपाली सेनाको गुल्म र आरक्ष कार्यालयले भने चिसो बढे पनि ढोरपाटन छाड्न पाइँदैन । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्