सबैलाई मान्य हुने धार्मिक संरचना निर्माण गर्न माग

Ad
  • कालोपाटी सम्बाददाता

खोटाङ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्ले दिक्तेलको रत्नपार्कमा सबै धर्मावलम्बीलाई मान्य हुने संरचना निर्माण गर्न माग गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कमा निर्माणाधीन सपिङ सेन्टर तथा चिल्ड्रेन पार्क नजिकैको सार्वजनिक जग्गामा हिन्दू धर्मलाई मात्र लक्षित गरेर मन्दिर बनाउन लागिएको भन्दै जनजाति महासङ्घले सबै धर्मावलम्बीलाई स्वीकार हुने संरचना निर्माण गर्न माग गरेको हो ।

जनजाति महासङ्घले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै सबै धर्मावलम्बीलाई मान्य हुने विकल्प खोज्न आग्रह गरेको छ । परिषद्का जिल्ला अध्यक्ष फुर्वा शेर्पाले बुझाएको ज्ञापनपत्रमा एकल हिन्दू धर्ममा आधारित सोच बनाएर मन्दिर निर्माण सुरु गरिएकाप्रति दुःख प्रकट गरिएको छ ।

आफ्नो मागलाई बेवास्ता गरे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरी पूर्णरूपमा सङ्घर्षमा उत्रने चेतावनीसमेत दिइएको छ । यसअघि तत्कालीन जिल्ला विकास समितिको कार्यालय हालको जिल्ला समन्वय समितिको कार्यालय परिसरमा निर्माण सुरु गरिएको गणेश मन्दिर चौतर्फी विरोधका कारण रोकिएको थियो ।

यसैबीच आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्ले आदिवासी जानजाति प्रमाणीकरणको अधिकार आफूले पाउनुपर्ने माग गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाललाई ज्ञापनपत्र बुझाउँदै महासङ्घले नेपाल सरकारको २५ माघ २०५८ को राजपत्र भाग–२ मा प्रकाशित र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा उल्लेख भएबमोजिम आदिवासी जनजातिका लागि सिफारिस दिने वा प्रमाणित गर्ने अधिकार आफूले पाउनुपर्ने दाबी गरेको हो ।

नेपालमा बसोबास गर्दै आएका ५९ आदिवासी जनजातिमध्ये खोटाङमा राई, नेवार, मगर, तामाङ, शेर्पा, भुजेल, गुरुङ, सुनुवार, माझी, लिम्बू, चौधरी र थारू समुदायको बसोबास छ । यसअघिसम्म जिल्ला प्रशासन कार्यालयले आदिवासी जानजातिको प्रमाणीकरणको काम गर्दै आएकामा महासङ्घले सो प्रमाणीकरण गर्ने अधिकारमा जिल्ला प्रशासनलाई औपचारिकरूपमा ज्ञापनपत्र बुझाउँदै दाबी गरेको हो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्