म्याग्दीमा कृषि उत्पादनमा वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । विगत दुई वर्षअघिको तुलनामा अहिले म्याग्दीमा कृषि उपजको उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षअघिसम्म कूल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशतमा खाद्यान्न, तरकारी र फलफूलखेती विस्तार गरिएको छ ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष शतप्रतिशत खेतमा धान रोपाइँ भएको र पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको स्थानीय तहका कृषि शाखाहरूले जनाएका छन् । विगतका वर्षमा जिल्लामा ९६ प्रतिशत मात्र रोपाइँ हुने गर्दथ्यो । जिल्लाका विभिन्न स्थानमा जौँ जोन, मकै जोनजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । सिँचाइ समस्याले धेरै जमिन बाँझो राख्नुपरेका किसानलाई राहत भएको छ । कृत्रिम जलाशय, लिफ्ट सिँचाइ, नहर, पक्की कुलोले गर्दा पानी सहज भएपछि खेती गर्न सजिलो भएको कृषक बताउँछन् ।

यता स्थानीय सरकारले पनि कृषिलाई प्रमुख प्राथामिकतामा राखेर काम गर्दै आएको जनाएका छन् । मङ्गला गाउँपालिकाले बाँझो जमिन नराख्ने नीति अगाडि सारेपछि अहिले गाउँपालिकाभित्र कतै पनि बाँझो जमिन नरहेको गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । जिल्लामा बाँझो जमिनको अवस्था घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

त्यसैगरी जिल्लामा नगदे बालीलाई पनि प्राथमिकता दिइएको छ । यसअघि पानीको सुविधा नभएका स्थानमा नगदेबालीको खेती गर्न किसान आकर्षित भएका हुन् । जिल्लामा आलु, गोलभेँडा, काउली, बन्दालगायत तरकारी उब्जनी हुँदै आएको छ । स्थानीय सरकारले कृषिको पकेट क्षेत्रको पहिचान गरी अनुदानलगायत कार्यक्रम विस्तार गर्न कृषिमा लागेका युवाले माग गरेका छन् ।

पाँच वर्ष लामो दुबर्ईको बसाइलाई बिट मारेर गत चैतमा गाउँ फर्किएका छन् मालिका गाउँपालिका–५ का भीमबहादुर रोकाले वर्षौँदेखि बाँझिएको १८ रोपनी पाखोबारीलाई जोतेर दुई हजारभन्दा बढी सुन्तला, कागती र केराका बिरुवा लगाएका छन् । “विदेशमा हामी जस्तो दुःख गर्न पनि तयार हुन्छौँ, तर स्वदेशमा भने जाँगर देखाउँदैनौँ”, रोकाले भने “म विदेश नफर्कने निर्णय गरी गाउँमा नै बाँझिएको जग्गा जमिन जोतेर फलफूल र तरकारी खेतीतिर लागेको छु ।”

रोका मात्रै होइन, कोरोना महामारी सुरु भएपछिका १६ महिनामा दुई हजार ७०० भन्दा बढी युवा वैदेशिक रोजगारी छाडेर आफ्नै गाउँमा फर्किएका जिल्लाका विभिन्न स्थानीय तहहरूले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ । यीमध्ये ८५ प्रतिशत युवा कृषि र पशुपालनमा जोडिइसकेका छन् भने बाँकी युवा स्वदेशमै रोजगारीका अन्य माध्यमको खोजी गरिरहेका छन् । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्