गुणस्तर वृद्धि गर्न चिया काट्न सिकाइँदै

Ad
  • कालोपाटी सम्बाददाता

इलाम । चियाको काट्छाँटमा एकरुपता ल्याउन चिया तथा कफी विकास बोर्डले किसानलाई सिकाउने भएको छ । काटछाँटमा एकरुपता नआउँदा गुणस्तर कमजोर भएकाले बोर्डले सीप विकास तालिम दिने भएको हो ।

तालिम र दक्षताबिना नै चियाको काट्छाँट गर्दा अन्तर्राष्ट्रियस्तरमा समेत गुणस्तर खचिएको अनुभव बोर्डसँग छ । आउँदा दिनमा चियाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले बोर्डले यो तालिम ल्याएको हो । सरकारी तवरबाट सुरु भएको रु १७ करोड ८२ लाखको ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’ चिया किसानका बारीबाट सुरु गर्न लागिएको नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसमेतको सहभागितामा सुरु भएको यो परियोजना आगामी २०२३ को अप्रिलसम्म सञ्चालन हुने परियोजनालाई किसानको आवश्यकता र चियाको सिजन अनुसार कार्यसम्पादन गर्ने लक्ष्य लिएको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले बताए ।

आगामी पुस २ गतेबाट इलामका ११ स्थानबाट चियाको कटाइसँगै काम सुरु गरिने भट्टराईको भनाइ छ । “यहाँ आएर हेर्दा चियाका बुट्टा तहसनहस भएका छन्, किसानलाई प्राविधिक ज्ञान छैन, अब हरेक ३० किसानको समूह बनाएर त्यो समूहमा दुईजना दक्षप्राविधिक खटाउने र तालिन दिइने योजना बनाएका छौं”, डा भट्टराईले भने , “२७९० किसानका बगानमा यो काम हुनेछ ।”

भट्टराईले दक्षप्राविधिकको छनोटको काम पनि गरिने बताए । “चियाका बुट्टामा जस्ले कैंची चलाउन जान्दछ, त्यसको अभ्यास हेरेर मात्र प्राविधिक जनशक्तिको छनोट हुनेछ”, उन भने , “शैक्षिक प्रमाणपत्रका आधारमा होइन प्रयोगात्मक अभ्यासमा प्राविधिक छानेर किसानलाई सिकाउन पठाउने योजना बनाएका छौं ।” प्राविधिकले चिया विस्तार आयोजनाको चिया बगानमा कैंची चलाएर आफ्नो सीपको परीक्षा दिने बताइएको छ ।

चियाको छाँटकाटपछि काटिएको चियालाई के गर्नुपर्छ क्रमशः सिजन अनुसारको प्रक्रियामा सिकाउँदै लैजाने बताइएको छ । मलखाद, टिपाइलगायतका विषयमा पनि तालिम दिइने छ । अन्तर्राष्ट्रिय मापदण्डानुसार नेपाली चियाको गुणस्तर अभिवृद्धि गर्न, अर्गानिक प्रमाणित भएको चिया निर्यात अभिवृद्धि गर्न, अर्थोडक्स चियाको निर्यात मूल्य वृद्धि गर्न, चिया उत्पादकको आम्दानीमा दिगो सुधार तथा चिया क्षेत्रमा लगानी वृद्धि र थप रोजगारी सिर्जना गर्ने यो परियोजनाको मुख्य लक्ष्य रहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्