कुसुन्डा भाषा जोगाउन अभियान

Ad
  • कालोपाटी सम्बाददाता

देउखुरी । कुसुन्डा भाषालाई जीवन्त राख्न र पछिल्लो पुस्तालाई जस्ताको त्यस्तै हस्तान्तरण गर्नका लागि प्रयास गरिएको छ । कुसुन्डा भाषाका वक्ता दुई मात्रै रहेकामा एकजना लमहीको कुलमोर निवासी ज्ञानीमाया कुसुन्डाको दुईवर्ष अगाडि मृत्यु भएपछि कुसुन्डा भाषा लोप हुने चिन्ता थपिँदै गएको थियो ।

कसुन्डा भाषा संरक्षण र जीवित राख्नका लागि अनुसन्धान कर्ता उदयराज आलेले सहयोग गर्दै आएका छन् । उहाँले कुसुन्डा जातीको शब्दकोष र अध्ययन गर्न पाठ्यपुस्तक लेखेका छन् । आफ्नो मातृभाषा मगर भए पनि लोप हुन थालेको कुसुन्डा भाषाको संरक्षणका लागि उनले काम गरेकाछन् ।

भाषा आयोगद्वारा आयोजित नयाँ कुसुन्डा पुस्तालाई ९० घण्टा पहिलो सत्र लोपोन्मुख कुसुन्डा भाषाको सिकाउने काम भइसकेको छ । प्रशिक्षकका रुपमा आलेले सहयोग गरेका छन् । कुसुन्डा भाषाका अर्का वक्ता कमला सेन कुसुन्डाले बोल्न मात्र जान्ने लेख्न नजान्ने भएकाले भाषा लोप हुनबाट बचाउनका लागि उदय आलेले सहजीकरण गरेका छन् ।

भाषा आयोग र नेपाल कुसुन्डा विकास समाज केन्द्रीय कार्यालय घोराही, दाङद्वारा आयोजित ६० घण्टा दोस्रो सत्र नयाँ कुसुन्डा पुस्तालाई लोपोन्मुख कुसुन्डा भाषाको प्रशिक्षकका रुपमा अध्यापन गरिएको थियो । दोस्रो सत्र पछाडि नयाँ पुस्ताका बालबालिका गीत लेख्न र गाउनसक्ने भएका छन् ।

दुई वर्षअघिसम्म दुई जनामा सीमित कुसुन्डा भाषा अहिले पठनपाठनमार्फत ३० जनामा फैलिएको छ । ज्ञानीमैया र कमलाकै सहयोगमा कुसुन्डा कक्षा चलाइएको थियो । अब भाषा बचाउने र विस्तार गर्ने जिम्मेवारी कमलाको काँधमा आएपछि उहाँ निरन्तर अगाडि बढे्का छन्  । भाषा बोल्न जान्नेको सङ्ख्या बढ्दै गएको र यसलाई निरन्तरता दिएर भाषा जीवित राख्ने उद्देश्य रहेको कमलाको भनाइ छ । भाषा, शब्द निर्माण र भाषिक संरचनासम्बन्धी लोपोन्मुख कुसुन्डा जनताका लागि तालिम सञ्चालन गरिएको थियो ।

अनुसन्धानकर्ता आलेले दास्रो पुस्तक ‘सोजाक’ तयार गरेका छन् । ‘सोजाक’ कुसुन्डा समुदायमा अभिवादन व्यक्त गर्न प्रयोग गरिने शब्द हो । यो पुस्तकलाई वर्णमालासहित एक्काइस पाठमा विभाजन गरिएको छ । प्रत्येक पाठमा कुसुन्डा भाषा, व्याकरण र संवादलाई केन्द्रित गरिएको छ । पुस्तक लेखनको मूलध्येय सङ्कटापन्न अवस्थामा पुगेको कुसुन्डा भाषा र संस्कृतिको संरक्षण, विकास तथा दैनिक जीवनमा कुसुन्डा भाषाको प्रयोग गर्न प्रोत्साहन गर्नु हो । पुस्तकमा कुसुन्डा भाषाको शब्द सङ्कलन, वाक्य निर्माण, संवाद र नेपाली अर्थ समावेश गरिएको छ । त्यसले गर्दा कुसुन्डा भाषा पढ्न, बुझ्न र सिक्न सजिलो हुने पुस्तकका लेखक आलेले जानकारी दिए ।

कुसुन्डा भाषामा तयार गरिएको पाठ्य सामग्रीले कुसुन्डा बोलीचाली, कुसुन्डा शब्द भण्डार र कुसुन्डा वाक्य निर्माणमा सहयोग पु¥याउनेछ ।
कुसुन्डा भाषा नेपालको एक प्राचीन आदिवासी भाषा हो । कुनै पनि भाषा परिवारसँग सम्बन्ध नगाँसिएको यो एक महत्वपूर्ण भाषा हो । तीन वर्ष अघिसम्म यस भाषाको दुई पूर्णवक्ता छन् । अहिले एक जना मात्र पूर्ण वक्ता छन् । त्यसैले कुसुन्डा भाषाको दैनिक जीवनमा प्रयोग र कुसुन्डा भाषाको विकासमा निकै ठूलो चुनौती देखिएको छ ।

विसं २०६८ को जनगणनामा दाङमा कुसुन्डा भाषा बोल्ने १४ पुरुष र १४ महिला गरी २८ जना उल्लेख छ । राष्ट्रिय जनगणना २०६८ अनुसार देशमा १२३ पुरुष र १५० महिला गरी २७३ जना कुसुन्डा छन् । कुसुन्डा विकास समाजले गरेको अध्ययनमा भने १७५ जना मात्रै कुसुन्डा छन् । दाङ, प्यूठान, कपिलवस्तु, अर्घाखाँची, गोरखा, रोल्पा, तनहुँ, सुर्खेत र बर्दियामा मात्रै कुसुन्डाको बसोबास रहेको अध्यक्ष धनबहादुर कुसुन्डाले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्