समस्यामा भजनी प्राथमिक स्वस्थ्य केन्द्र

Ad
  • कालोपाटी सम्बाददाता

भजनी । कैलालीको भजनी प्राथमिक स्वस्थ्य केन्द्र भजनी नगरपालिकाको स्थानीयवासीका लागि मात्रै नभइ आसपासका स्थानीय तहका नागरिकको पनि उपचारका लागि एक मात्रै सुविधायुक्त स्वास्थ्य केन्द्र हो ।

भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट नागरिक उपचारका लागि भजनी प्राथमिक स्वस्थ्य केन्द्र पुग्ने गरेको भए पनि स्वस्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको दरबन्दी नहुँदा समस्या भएको छ । अहिले स्वस्थ्य केन्द्रको व्यवस्थापन समितिले १४ जना कर्मचारी करारमा र दुईजना ज्यालादारीमा राखेको छ । स्वास्थ्यकेन्द्रको आम्दानी भनेको स्वास्थ्य बीमा मात्रै हो । स्वास्थ्य बीमाको रकम पनि समयमा नआउने भएका कारण आर्थिक भार थेग्न निकै मुस्किल हुने गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा सुवास स्वार बताउँछन् ।

स्वास्थ्य केन्द्रमा एकमात्र मेडिकल अधिकृतको दरबन्दी छ । त्यो पनि लामो समयदेखि खाली छ । केही वर्षदेखि नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका स्वास्थ्यकर्मीले दुईवर्ष सरकारी स्वस्थ्य संस्थामा काम गर्नुपर्ने व्यवस्था अनुसार स्वास्थ्य केन्द्रमा आएका स्वास्थ्यकर्मीकै भरमा बिरामीले उपचार पाइरहेका छन् । अहिले स्वास्थ्य केन्द्रमा दुईजना मेडिकल अधिकृत छन् । त्यसमा पनि एकजना तालिममा छन् । एकजनले स्वास्थ्य केन्द्रमा २४ घण्टा काम गर्नुपर्ने बाध्यता रहेको डा स्वारले बताए ।

भजनीमा प्राइभेट क्लिनिक पनि छैन । स्वास्थ्य जाँचको लागि सबै नागरिकको माध्यम भनेकै भजनी प्राथमिक स्वास्थ्य केन्द्र मात्रै हो । त्यतिमात्र होइन, यदि स्वास्थ्य केन्द्रमा औषधि नपाए त्यो औषधिका लागि भजनी बाहिर जानुपर्ने बाध्यतामा भजनीवासी छन् । “बिरामीको सङ्ख्या अत्याधिक हुन्छ । जनशक्ति छैन । प्रसूति गृहमा पनि अवस्था त्यस्तै छ । महिनामा ५० भन्दा बढी गर्भवती आउछन्”, मेडिकल अधिकृत स्वारले भन्नुभयो, “सायद यो कैलालीकै एकमात्र स्वस्थ्य केन्द्र हो, जहाँबाट अस्पतालले दिने सबै सेवा दिएको छ । कर्मचारीको अभावका बाबजुद पनि ।” स्वास्थ्य केन्द्रले अहिले सर्पदंशको उपचार समेत गर्न थालेको छ । सर्पदंशले टोकेपछि उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

स्वास्थ्य केन्द्रमा रहेको पुरानो शव परीक्षण कक्ष भने लामो समयदेखि बन्द रहेको छ । अहिले कुनै मान्छेको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि टीकापुर वा धनगढी पु¥याउनुपर्ने बाध्यताको भने अझै अन्त्य भएको छैन । केही वर्ष पहिले टीकापुरबाट पनि शव परीक्षणका लागि भजनी जानुपर्ने बाध्यता थियो । अहिले त्यो उल्टिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि केही समयका लागि सुरु गरिएको शव परीक्षणका काम स्वास्थ्यकर्मीकै अभावमा बन्द भएको मेडिकल अधिकृत स्वारले बताएका छन् ।

“सबैभन्दा विवादित हुने कुरा नै शव परीक्षणका रिपोर्ट हो । त्यसको लागि छुट्टै तालिम लिनुपर्छ । त्यो तालिम स्वास्थ्य केन्द्रमा कार्यरत कसैले पनि लिएका छैनौं”, स्वारले भने ,“हचुवाको भरमा गरेको शव परीक्षणका रिपोर्टले धेरै समस्या पार्न सक्छ । त्यसमा पनि राजनीतिक आडमा हुने घटनामा झनै जोखिम हुने गरेको छ ।” उनले केही दिनमा दुईजना थप मेडिकल अधिकृत भजनी प्राथमिक स्वस्थ्य केन्द्रमा आउने बताउँदै एकजनालाई शव परीक्षणको तालिमका लागि काठमाडौँ पठाउने र शव परीक्षण घरलाई व्यवस्थित गरेर सञ्चालनमा ल्याउने बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्