बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कृषि ज्ञान केन्द्र बागलुङले दुई वर्ष उमेर समूहका बालबालिकाको परिवारलाई कार्यक्रममा सहभागी बनाउने भएको हो ।

गण्डकी प्रदेश सरकारको ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त तरकारी उत्पादन तथा मह उत्पादनमा जोडेर पोषणमा सुधार गर्ने कार्यक्रम रहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।

सूचीकृत समूह वा सहकारीमा आवद्ध १५ देखि २५ जना सुत्केरी महिलाको समूहले यो कार्यक्रममा सहभागिता जनाउन पाउने छन् । “दुई वर्षभित्रका बच्चा भएको परिवारका सदस्यले प्रमाणसहित कार्यक्रममा सहभागी हुनसक्छन्, त्यसका लागि क्लस्टर बनाउनुपर्छ”, भट्टराईले भने , “यो कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छौं ।” कार्यक्रमका लागि जिल्लाभर रु ३० लाख परिचालन हुनेछ । एक जना बालबालिकाको परिवारले २० हजार अनुदान पाउने छ ।

समूहमा आउनेलाई थप प्रोत्साहन गरिने उनले बताए । “च्याउखेती गरेको हुनुपर्छ, सानो प्लास्टिक टनेल र एक घार माहुरी हुनुपर्ने कार्यक्रमको विधि छ”, उनले भने , “मह, च्याउ, तरकारी र आवश्यक पोषिलो वस्तु कौसीमा उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।” यो कार्यक्रमले घरमै पोषणयुक्त तरकारी तथा मह उत्पादन गर्न प्रेरित गर्ने उनले बताए । बालबालिका दुई वर्षको हुँदासम्म सुत्केरी र बालबालिकाका लागि मह र तरकारी प्रयोग हुने र त्यसपछि करेसाको तरकारीले घरखर्च चलाउन सहज हुने कार्यक्रमको लक्ष्य छ । “सिकाइ पनि होस्, उत्पादन र प्रयोग पनि होस्”, भट्टराई भन्नुहुन्छ, “सहयोगले परिवारमा कुपोषणका कारण आउनसक्ने ठूलो क्षतिलाई कम गर्छ ।”

कार्यक्रममा सहभागी हुनका लागि कार्यालयले आह्वान गरेको भए पनि कसैले आवेदन भने दर्ता गराएका छैनन् । समूह चाहिने, दर्ता भएको हुनुपर्ने र कम्तीमा १० जनाभन्दा बढीको समूह हुनुपर्ने भएकाले प्रक्रिया पु¥याउन कठिन छ । समुदायस्तरमा सचेतना र जागरणमार्फत कार्यक्रम प्रभावकारी बनाउने कार्यालयको योजना छ । विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाले गरिरहेका पोषण सुधारका काममा कृषि ज्ञान केन्द्रको कार्यक्रमले सहयोग गर्ने भट्टराईको विश्वास छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्