सफ्टवेयर प्रणालीबाट राजस्व सङ्कलन सुरु

Ad
  • कालोपाटी सम्बाददाता

रुकुम । रुकुम पूर्वका तीनवटै स्थानीय तहले सफ्टवेयर प्रणलीमार्फत राजस्व सङ्कलन सुरु गरेका छन् । भूमे, पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाले सफ्टवेयर प्रणाीमार्फत राजस्व सङ्कलनको कार्य थालेका हुन् । भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले इन्टरनेटको समस्यालाई समाधान गरी सबै वडामा यो प्रणाली लागू गर्ने अभियानमा गाउँपालिका लागि परेको बताए । सो गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ६१ लाख ७८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । यसमा गत मङ्सिर १५ सम्म १७ लाख ४४ हजार राजस्व सङ्कलन भइसकेको जनाइएको छ ।

त्यस्तै पुथाउत्तरगङ्गाले राजस्व सङ्कलन प्रणालीलाई चुस्त, दुरुस्त र अध्यावधिक बनाउने उद्देश्यका साथ सफ्टवेयर प्रणाली अङ्गालिएको गाउँपालिकाका लेखा शाखा प्रमुख नवराज खड्काले बताए । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८-७९ मा रु ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । सबै वडामा नियमितरुपमा इन्टरनेटको सुविधा नहुँदा भने यो प्रणाली कार्यान्वयनमा चुनौती देखिएको गाउँपालिकाले जनाएको छ ।

सिस्ने गाउँपालिकाले पनि यही पुस १ गतेबाट सफ्टवेयर प्रणालीमार्फत राजस्व सङ्कलन सुरु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए । राजस्व प्रणालीमा एकरुपता ल्याई राजस्व सङ्कलन कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सफ्टवेयरमार्फत राजस्व सङ्कलन सुरु गरिएको उनले बताए । गाउँपालिकाले चालु आव २०७८-७९ मा रु एक करोड १० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

सफ्टवेयरबाट राजस्व सङ्कलन गर्न जिल्लाका ३१ वटै वडाका वडा सचिव, एमआइएस फिल्ड सहायक र कम्प्युटर अपरेटरलाई तालिम दिइएको छ । तीनवटै पालिकामा गाउँपालिकाको आयोजना र सफ्टेक इन्फोसिस प्रालि काठमाडौँको प्राविधिक सहयोगमा वडा सचिव र अन्य कर्मचारीलाई तालिम प्रदान गरिएको हो । यसअघि हस्तलिखित रसिदको प्रयोग गरी राजस्व सङ्कलन गर्दै आएकोमा विद्युतीय प्रणालीले राजस्व सङ्कलनमा सहजता आउन विश्वास गरिएको छ । अब गाउँ तथा वडा पालिकाले सङ्कलन गर्दै आएका विभिन्न सेवा शुल्क, व्यवसाय दर्ता शुल्क र मालपोत करलगायत अन्य सवै राजस्व विद्युतीय माध्यमबाट सङ्कलन हुने छन् ।

कहिलेकाहीँ विद्युत् र इन्टरनेट नहुँदा केही समस्या भए पनि यो प्रणालीले सेवा दिने र लिने दुवैलाई सहज हुनेछ । यसअघि हस्तलिखित रसिदको माध्यमबाट राजस्व सङ्कलन गर्दा बेरुजु आउने गरेकोमा त्यो समस्या अब समाधान हुने अपेक्षा गरिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्