सरकारी भरतपुर अस्पताल सुधारको बाटोमा

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । सरकारी भरतपुर अस्पताल सुधारको बाटोमा अघि बढेको छ । अस्पतालमा गुनासो बढ्दै गएपछि सुधारका काम अघि बढाइएको हो । अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट मेसु छोटो समयमा परिवर्तन भइरहँदा कामले गति लिन सकेको थिएन । एउटा मेसुले सुरु गरेका काम अर्को आएर बुझ्न नपाउँदै सरुवा हुने अवस्थाले अस्पताल अस्तव्यस्त बनेको थियो । गएको दुई वर्षमा सात जना मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका थिए ।

पछिल्लो समय अस्पताललाई नजिकबाट बुझेका अस्पताल विकास समितिका अध्यक्ष र मेसु बनेपछि सुधारका काम भएका हुन् । लामो समय भरतपुर अस्पतालमा सेवारत प्रा डा कृष्णप्रसाद पौडेल गत भदौदेखि मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएपछि अस्पतालले गति लिन सुरु गरेको छ । पौडेलले सर्वसाधारणलाई सहजरुपमा स्वास्थ्य सेवा दिन निरन्तर सुधारका काम अगाडि बढाइएको बताए । उनले धेरै गुनासा बहिरङ्ग ओपिडी सेवामा आएपछि सो सेवालाई सहज बनाउँदै लागिएको बताउनुभयो । उनले आकस्मिक इमर्जेन्सी सेवा, शल्यक्रिया सेवा, डाइलासिस सेवा, प्रसूति सेवालगायतमा सुधार गर्दै सहज बनाइएको जानकारी दिए ।

यसैगरी अस्पताल प्रशासन र कर्मचारी व्यवस्थापन, अस्पताल सुन्दरता, पार्किङ व्यवस्थापनलगायतका काम भएको उनको भनाइ छ । यसअघि २०७५ असोजदेखि ०७६ असारसम्म मेसु भएर काम गरिसकेको अनुभूव आफूमा रहेको भन्दै पौडेलले लामो समय अस्पतालमा काम गर्दा यहाँका समस्याबारे जानकार रहेको बताए । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार प्रत्येक सोमबार बिहान ७ बजेदेखि ८ बजेसम्म नियमित अस्पताल सरसफाइ गरिँदै आएको छ । उनका अनुसार सो दिन अस्पतालका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट लगायतको उपस्थितिमा सरसफाइ कर्मचारी सँगैसँगै खाजा खाने गरेको जानकारी दिए ।

अस्पतालमा असोज १९ गतेदेखि जिओपिडी सेवा सुरु गरिएको छ । बिहान ८ः३० बजेदेखि यो सेवा नियमित हुने गरेको छ । सरकारी अस्पतालमा जिओपिडी सेवा सुरु गरेको भरतपुर अस्पताल पहिलो भएको पौडेलले जानकारी दिनुभयो । कोभिड– १९ को समयमा बिहान ८ बजेदेखि ११ बजेसम्म मात्रै रहेको ओपिडी टिकट काउन्टरलाई ८ बजेदेखि १२ बजेसम्म गराइएको र इएचएस ओपिडी टिकटको समय दिउँसो २ बजेसम्म सञ्चालन हुने गरेको पौडेलको भनाइ छ । अस्पतालमा रु ३०० शुल्क तिरेर इएचएस ओपिडी टिकट लिने व्यवस्था गरिएको छ । अतिरिक्त ओपिडी सेवा ९ बजेदेखि १० बजेसम्म गर्ने व्यवस्था मिलाइएको सूचना अधिकारी पौडेलले बताए ।

अस्पतालमा कात्तिक १ गतेदेखि शल्यक्रियाको समय बढाएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ । शल्यक्रिया कक्षमा मङ्सिर १ गतेदेखि पाँच श्ययाको रिकभरी कक्ष सञ्चालन गरिएको छ । छवटा शल्यक्रिया कक्ष रहेकामा आकस्मिक शल्यक्रिया कक्षलाई छुट्टै व्यवस्था गर्न लागिएको हो । यस्तै कात्तिक १ गतेदेखि गर्भवती महिलालाई सिधै परीक्षण कक्षमा गएर जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

यसअघि गर्भवती महिलाले पनि ओपिडी लाइनमा बसेर टिकट लिनुपर्ने व्यवस्था थियो । यो सेवा सुरु भएसँगै गर्भवती महिलालाई धेरै सहज भएको पौडेलले बताउनुभयो । कात्तिक १ गतेदेखि नै ओपिडी सेवालाई अनलाइन व्यवस्था गरिएको छ । मोबाइल वा कम्प्युटरमार्फत घरबाट नै अनलाइन ओपिड टिकट लिन पाउने व्यवस्था अस्पतालले गरेको हो । ओपिडीमा आउने बिरामीलाई सहज होस् भन्नका लागि ओपिडी हेल्पडेस्कसमेत सञ्चालन गरिएको छ । नियमित कर्मचारीको व्यवस्था गरी सेवा दिँदै आएको उनले बताए ।

अस्पतालको आकस्मिक कक्षमा दुर्घटनाका बिरामीलाई लक्षित गर्दै श्यया बढाइएको छ । मङ्सिर ५ गतेदेखि १२ श्यया रहेको आकस्मिक कक्षलाई २० श्ययाको बनाइएको हो । आकस्मिक कक्षमा पाँच श्ययाको ट्रमा इमर्जेन्सी सुरु गरिएको सूचना अधिकारी पौडेलले बताए । दुर्घटनाका बिरामीलाई छिटोछरितो उपचार गर्न पाँच जना विशेषज्ञ चिकित्सकको ट्रमा टिम गठन गरी सेवा नियमित गरिएको हो । आगामी दुई वर्षमा ट्रमा सेन्टर स्थापना गर्ने लक्ष्य अस्पतालले लिएको छ ।

अस्पतालमा रहेको बिमाको काउन्टरलाई व्यवस्थित गरी दुई पटक लाइन बस्नुपर्ने बाध्यता हटाउँदै अब एउटै लाइनबाट बिलिङको सुविधा दिइएको जनाइएको छ । अस्पतालको फार्मेसीमा पर्याप्त औषधि नभएको गुनासो बढेपछि १५० थरीका औषधि थप गरिएको पौडेलले जानकारी दिए । औषधि आपूर्ति नगर्ने पाँच सप्लायर्सलाई कारवाही गरी अन्य कम्पनीबाट समेत अत्यावश्यक औषधि खरिद गरी सेवा दिँदै आएको सूचना अधिकारी पौडेलले बताए ।

अस्पतालको सेवासुविधा सुधारमा कर्मचारीको महत्वपूर्ण भूमिका रहने हुँदा कर्मचारी प्रशासनलाई चुस्त बनाउने, निरीक्षणको कामलाई नियमित गरी कामलाई व्यवस्थित बनाउने काम हुँदै आएको छ । अस्पताल विकास समिति कर्मचारी नियमावली समितिको बैठकबाट अनुमोदन गरी मन्त्रालयमा पेश गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए ।

अस्पतालमा ढलको समस्या रहँदै आएकामा व्यवस्थापनको काम सुरु गरिएको छ । कोभिड– १९ को सङ्क्रमण उच्च भएका समयमा अक्सिजनको अभाव भएपछि अस्पतालमा तरल लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको छ । २० हजार लिटर क्षमताको उक्त ट्याङ्क पुस १ गतेदेखि सञ्चालनमा आएको हो । अस्पतालले थप अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरेको अधिकारीले जानकारी दिए । अस्पतालले असोज १५ गते हस्पिटल ब्युटिफिकेसन टिम गठन गरी रङरोगन र केही ठाउँमा सुन्दरताको काम गरिरहेको छ । अस्पतालमा आउने सेवाग्राहीलाई पार्किङको समस्या भएपछि व्यवस्थित गर्ने काम भएको छ ।

अस्पतालमा आउने मिर्गौलाका बिरामीले लामो समय पालो पर्खनुपर्ने अवस्था आएपछि थप तीन वटा डायलासिस मेसिन खरिद गरी सेवा नियमित गरिएको छ । डायलासिसका लागि आउने विपन्न बिरामीको रजिष्ट्रेशन शुल्क र आधारभूत परीक्षण निःशुल्क गर्ने व्यवस्था गरिएको हो । अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले अस्पतालका सेवालाई स्तरीय बनाउन लागिपरेको बताए ।

उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी अस्पतालको स्तरोन्नतिको काम निरन्तर अघि बढेको बताए । उनले अस्पतालका भौतिक पूर्वाधारका काम निरन्तर भइरहेको जानकारी दिए । अत्याधुनिक आकस्मिक कक्ष, सरुवा रोग अस्पताल, रोटरी स्पाइनल इञ्जुरी सेन्टर भवन निर्माण कार्य सुरु भइसकेको छ । प्रसूति गृहको छुट्टै भवन बनाउने गृहकार्य सुरु भएको अधिकारीले जानकारी दिए ।

छिट्टै अस्पतालमा एमआरआइ, क्याथल्याब र पिआइसियु सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । सङ्घीय अस्पताल भए पनि बिरामीको सङ्ख्याअनुसार दरबन्दी नहुँदा चाहे जस्तो व्यवस्थापन गर्न कठिनाइ भएको अस्पतालले जनाएको । विसं २०७५ मा नै अस्पताल ५०० श्ययाको बनाएको घोषणा गरिए पनि दरबन्दी १५० श्ययाको बराबर मात्रै रहेको छ । ओएनएम सर्भे भएको भए पनि दरबन्दी नबढ्दा समस्या भएको उनले बताए । अस्पतालमा १९ भन्दाबढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । एकैदिन दुई हजार हाराहारी बिरामीले बहिरङ्ग सेवा लिने गरेको तथ्याङ्क छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्