माओवादी महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेता उपस्थिति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलको नेता दुर्गा पौडेललगायत शीर्ष नेता महाधिवेशनस्थल पुगेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाही, नेकपा मालेका महासचिव सिपी मैनाली र नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल पनि शुभकामना दिन कार्यक्रमस्थल पुगेका छन् । नेताहरूबाट शुभकामना मन्तव्य दिनेक्रम जारी छ ।

माओवादीले आजदेखि प्रथम राष्ट्रिय सम्मेलनको तयारी गरेको तर शनिबार साँझ बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौँ राष्ट्रिय महाधिवशेनका रूपमा परिणत गरेको थियो । यसअघि माओवादीले सम्मेलन भएकाले अतिथिका रूपमा कसैलाई नबोलाउने निर्णय गरेको थियो । सम्मेलनलाई महाधिवशेनमा रुपान्तरण गर्ने निर्णय गरेसँगै माओवादीले नेपालमा क्रियाशील राजनीतिक दललाई आमन्त्रण गरेको हो ।

महाधिवशेनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गरे । कार्यक्रमको सञ्चालन अर्थमन्त्री एवं माओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माले गरेका छन् । उद्घाटन सत्रमा उपस्थितलाई स्थायी समिति सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरेका थिए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्