बौद्धनाथ महाचैत्यमा हावाले नच्यातिने लुङ्दर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको महाचैत्यमा हावाले नच्यातिने लुङ्दर राखिएको छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले दाता आएपछि बौद्ध महाचैत्यको लुङ्दर परिवर्तन गर्दै आएको छ । पहिले हावा लाग्दा लुङ्दर च्यातिने गथ्र्यो । लुङ्दर च्यातिएर विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्र प्रदूषित भएकाले नच्यातिने गुणस्तरको राख्न थालिएको हो । दाताले लुङ्दर परिवर्तनका लागि गुठीलाई नगद दान दिने गरेका छन् । लामो समयसम्म पनि दाता नआए गुठीकै स्रोतबाट परिवर्तन गर्ने गरिएको व्यवस्थापक अनमोल श्रेष्ठले राससलाई जानकारी दिए ।

महाचैत्यको पेटसम्म रङ्रोगनसहित लुङ्दर परिवर्तन गर्न चाहने दाताका लागि रु ४५ हजार, मण्डलासम्मका लागि रु ९० हजार र माने पर्खालसम्मका लागि रु एक लाख ५० हजार शुल्क तोकिएको छ । उक्त शुल्कमा दाताले अजिमास्थानमा पूजासहित १०८ दीप प्रज्ज्वलन गर्न पाउँछन् । महाचैत्य र चैत्यमा लुङ्दर राखेर आकर्षकरुपमा सजाउने गरिन्छ । लुङ्दरसँगै महाचैत्यको माथिल्लो भागमा घेरिएको कपडा पनि दाताले बेला बेलामा फेर्न सहयोग गर्दै आएका छन् । चैत्यको माथिल्लो भागमा घेरिएको कपडालाई स्वयम्भू भनिन्छ । एक दुई दिनमै नयाँ दाता आएर लुङ्दर परिवर्तन गर्न र स्वयम्भू काठमाडौँ बाहिरका गुम्बामा लैजान विभिन्न जिल्लाबाट लामा आउने गर्छन् ।

लुङ्दर र स्वयम्भू लिन आउने लामाको बौद्ध क्षेत्रमा भीड लाग्ने गर्छ । पालो कुरेर विभिन्न जिल्लामा रहेका गुम्बाका लामाले लुङ्दर र स्वयम्भू लैजाने परम्परा छ । विभिन्न जिल्लाबाट आउने लामा पालो कुरेर बस्ने भएकाले बौद्ध महाचैत्यमा लुङ्दर र स्वयम्भू व्यवस्थापनमा समस्या नरहेको व्यवस्थापक श्रेष्ठले बताउनुभयो । बौद्धनाथ क्षेत्रमा आउने पर्यटकका लागि पहिले माथिको खुड्किलासम्म गएर महाचैत्य घुम्न दिने गरिएकामा कोरोनाको महामारी फैलिएपछि विसं २०७६ चैतदेखि बन्द गरिएको गुठीले जनाएको छ । खुड्किला चढ्न दिने तयारी गरिएकै बेला विश्वभर ओमिक्रोन नामको नयाँ भेरियन्टसहितको कोरोना फैलिन थालेकाले हाललाई केही समय बन्द नै गरिने भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्