उद्यान, सूचना केन्द्र र पदमार्ग उद्घाटन

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ मोहोरियामा निर्माण भएका तीन योजना एकसाथ उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकार र वडा कार्यालयको लगानीमा बनाइएको घाङ्च ल्हुम अग्लो ढुङ्गा पक्षी एवं वनस्पति उद्यान, पर्यटन सूचना केन्द्र भवन र धन्दुर इको पदमार्ग एकसाथ बुधबार गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले उद्घाटन गरे ।

गण्डकी प्रदेश सरकारको रु २० लाखको लागतमा अग्लो ढुङ्गासहितको उद्यान निर्माण गरिएको थियो । मगर भाषामा अग्लो ढुङ्गालाई घाङ्च ल्हुम भनिन्छ । मोहोरियाको जङ्गलमा अग्ला ढुङ्गा परापूर्वकालदेखि नै थिए । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामै सीमित थिए । तीनै ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको हो । उद्यान निर्माणका लागि स्थानीयवासीले दश प्रतिशत व्यहोेरेका छन् । ढुङगा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल सुरु भएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए ।

सोही ठाउँमा रु २० लाखको लागतमा धन्दुर इको पदमार्ग निर्माण गरिएको छ । पदमार्गमा रेलिङसहितको चार सय मिटर सिँढी निर्माण गरिएको छ । चमेरो गुफाबाट मोहोरियाको घाङ्चल्हुम जोड्नलाई रेलिङसहितको सिँढी बनाइएको छ । प्रसिद्ध चार तले धन्धुर सिद्ध गुफासँगै रहेको चमेरो गुफादेखि मोहोरियासम्म निर्माण गरिएको पदमार्गले सर्वसाधारणलाई सहज हुने उनले बताए ।

निकट भविष्यमा सिद्धगुफा, चमेरेगुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको भ्युटावर, इलुङ झरना हूँदै पाथर्दी सामुदायिक होमस्टेलाई जोडेर फूलको बगानसहितको पदमार्ग बनाउने योजना रहेको वडाध्यक्ष थापाको भनाइ थियो । मोहोरियामै रु १९ लाखको लागतमा सूचना केन्द्र निर्माण गरिएको छ । केन्द्रमा यस ठाउँ वरपर पाइने जडीबुटी सङ्कलन गरी प्रदर्शनीमा राखिनेछ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्