शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताए । उनको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता कार्यक्रम उक्त महानगरपालिकाले मात्र गरेको छ ।

यी कार्य अन्य पालिकाका लागि सिको गर्ने कार्य भएको उनको भनाइ छ । भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । सङ्घीय सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ । प्रमुख दाहालले भने , “हामीले शिक्षामा दिएको प्राथमिकताका कारण नतिजा पाउन सकेका छौँ ।” अन्य पालिकाले गर्न नसकेका काम भरतपुरले गर्न सकेको उनको भनाइ छ । महानगरपालिकाले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेका लागि वार्षिक रु १० हजार छात्रवृत्ति उपलब्ध गराउन सुरु गरेको छ ।

सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीको न्यूनतालाई परिपूर्ति गर्ने उद्देश्यले महाननगरपालिकाले स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न चालु आर्थिक वर्षमा महानगरको आन्तरिक स्रोतबाट रु ६५ लाख अनुदान रकम विनियोजन गरेको छ । शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले ३० युवा स्वयंसेवक शिक्षक परिचालन गरिने बताए । सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिन सो कार्यक्रम राखिएको उनको भनाइ छ ।

यससँगै सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको महत्वपूर्ण कार्य सम्पन्न भएको छ । यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्यामा करिब छ हजार वृद्धि भएको उनले बताए । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि विसं २०७५ मा ५६ दशमलव ४७ प्रतिशत रहेकामा शैक्षिक सत्र विसं २०७७ मा पाँच दशमलव ५३ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको पौडेलको भनाइ छ । कूल साक्षरता दर गुणस्तरमा ९८ दशमलव पाँच प्रतिशत रहेको छ । विभिन्न स्थानमा नमूना विद्यालय स्थापना भएको उनले बताए ।

शिक्षकको प्रविधि उपयोगको क्षमता विकास गर्न आइसिटी तालिम सञ्चालन गरिएको छ । सबै आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरी शिक्षासँग सिकाइ जोडिएको उनले बताए । शिक्षकको पेसागत दक्षता विकासका कार्य अगाडि बढाइएको उनले जनाकारी दिए ।उनले भने , “विगत चार वर्ष छ महिनामा ‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयको कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको छ ।” शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमूना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको उनले जनकारी दिए । संस्थागत विद्यालयको साझेदारीमा कक्षा ११ का २३९ विद्यार्थीलाई मेरिट बेसमा आधारित पूर्ण छात्रवृत्ति प्रदान गरिएको उनले बताए ।

लैङ्गिक हिंसारहित विद्यालय बनाउन सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक महिला शिक्षिकालाई लैङ्गिक सम्पर्क शिक्षक तोकिएको उनको भनाई छ । । उनीहरुलाई लैङ्गिक हिंसासम्बन्धी अभिमुखीकरणसमेत दिइसकिएको छ । भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी अटिजम भएका बालबालिकाको शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ । सामुदायिक विद्यालयमा पाँच बस उपलब्ध गराइएको र अहिले पनि त्यो कार्यक्रम सञ्चालन गरिने छ ।

महानगरपालिकाभित्र सामुदायिक १२३ र संस्थागत विद्यालय ९७ रहेका छन् । ती विद्यालयमा ८६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरपालिकाभित्र कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय, दुई मेडिकल कलेजसहित अन्य प्राविधिक कलेजसँगै विभिन्न विश्वविद्यालयका आंगिक क्याम्पस, सामुदायिक क्याम्पस र निजी क्याम्पस रहेका छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँका स्कुल र कलेजमा विद्यार्थी पढ्न आउने गर्दछन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्