‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने’ : मेयर दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएका छन् ।

मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएका हुन् । आइतबार न्यूज एजेन्सी नेपालसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताए ।

मेयर दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरे । उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताए । उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताए । मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गरे ।

मेयर दाहालले आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गरे । उनले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केराखेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको बताउनु भयो । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आगामी दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गरे । उनले शीर्षस्थ नेताहरु भएको ठाउँको विकास अलि चाँडै हुने गरेको त्यसको प्रभाव चितवनमा पनि परेको बताए । मेयर दाहालले शीर्षस्थ नेता चितवनको जनप्रतिनिधि भएकोले गर्दा अर्बौं बजेटका योजनाहरु गर्न सफल भएको बताए ।

मेयर दाहालले महानगरले रोजगारी सिर्जना गर्न, विकासलाई तीव्रता दिनका लागि काम गरिरहेकोले जनताले यसलाई मूल्यांकन गरिरहेको बताए । उनले चितवन जिल्लाका लागि प्रचण्ड आवश्यक रहेको भन्दै पहुँच बिना अर्बौंका योजना शुरु गर्न सम्भव नभएको बताए । मेयर दाहालका अनुसार आफ्नो कार्याकालमा महानगरमा ३ अर्ब ७० करोडको खानेपानी योजना र ६१० किलोमिटर सडक निर्माण भएको छ । उनले महानगरको ५ वर्षे कार्याकालमा निजी विद्यालयबाट १० हजार विद्यार्थीहरुलाई सरकारी विद्यालयमा भर्ना गराउने योजना भएको र त्यसअनुसार सफल भइरहेको बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्