गाउँमै उखु उद्योग खुलेपछि किसान बजारको समस्याबाट मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

महेन्द्रनगर । एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त छन् । “पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक रुपैयाँ पनि नदिएर व्यापारी सम्र्पकविहीन बने”, चौधरीले भने , “विगतकोभन्दा यहाँका उखु किसान अहिले ढुक्क भएर मुनाफा आर्जन गरिरहेका छन् ।”

उर्मिला जस्तै कञ्चनपुरको दक्षिण क्षेत्रमा उखुखेती गर्ने सयौँ किसान अहिले बजारको समस्याबाट मुक्त छन् । यहाँको बेलौरी र पुनर्वासमा दुई ठूला चिनी उद्योग सञ्चालनमा आएपछि किसानलाई उखु पुयाउन भ्याइनभ्याइ छ । “पहिले बैलगाडामा उखु बेच्न भारतसम्म जान्थ्यौँ”, उनले भने , “अहिले गाउँमै उद्योग खुलेपछि किसान उखुखेतीप्रति आकर्षित भएका छन् ।”

कञ्चनपुरको बेलौरी, पुनर्वास, बेल्डाँडी र लालझाडी क्षेत्रमा सबैभन्दा बढी उखुखेती गरिँदै आएको छ । चिनी उद्योग सञ्चालनपछि यहाँ स्थापित कोल्हु भने विस्थापनका क्रममा रहेको बेलौरी नगरपालिका–७ टेडियाका कुलप्रसाद श्रेष्ठले बताए । उनले चिनी उद्योग सञ्चालनपछि किसानले उखुको उचित मूल्य पाइरहेको बताए । “पहिले रु १५० मा प्रतिक्विन्टल उखु बिक्री गरियो”, श्रेष्ठले भने , “अहिले प्रतिक्विन्टल रु साढे चार सयमा बिक्री हुँदैछ ।” उनले दुई-तीन वर्षयता उखुको मूल्यमा सुधार आउँदा खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भइरहेको बताए ।

“मैले एक बिघा खेतमा उखु लगाएर जिविका चलाएको छु”, श्रेष्ठले भने , “अब विगतको जस्तो उखु बिक्री हुने तर पैसा नपाउने अवस्था हट्दै गयो ।” दुई दशकदेखि उखुखेती गर्दै आएका श्रेष्ठले यहाँ विगतमा किसानले बिक्रीका लागि निकै सास्ती भोगेको बताए । यहाँ यस पटक उखु उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ । गत वर्ष बेलौरीस्थित महाकाली चिनी मिलले १६ लाख क्विन्टल र पुनर्वासस्थित भागेश्वर चिनी मिलले १२ लाख क्विन्टल उखु खरिद गरेका थिए । त्यसैगरी यहाँको पुनर्वास नगरपालिकाका उखु किसान रामदास बडायकले आफूहरुले सरकारले निर्धारण गरेको उखुको मूल्य पाउनुपर्ने बताए ।

“विगतमा मिलसम्म उखु पु¥याए पनि वर्षौ सम्म मूल्य नपाएर चित्त बुझायौँ”, उनले भने , “सरकारले मूल्य निर्धारण गरेरभन्दा पनि सो मूल्य किसानले पाए-नपाएका बारेमा नियमन गर्नुपर्छ ।” बेलौरी नगरपालिकाको कृषि शाखा प्रमुख सुमनराज जोशीले जिल्लाको दक्षिणी भेग उखुको पकेट क्षेत्रका रुपमा विस्तार भइरहेको बताए । “बेलौरीमा ६ हजार ५०० बिघा क्षेत्रफलमा उखुखेती गरिँदैछ”, उनले भने , “तीन हजार ४०० किसान उखुखेतीमा आबद्ध छन् ।” उनले हरेक वर्ष उखुको मूल्य वृद्धि हुँदै जाँदा किसानको उक्त खेतीमा आकर्षण बढ्दै गएको बताए ।

महाकाली चिनी मिलका प्रशासकीय अधिकृत कालुसिंह ठगुन्नाले मिलका लागि २५ लाख क्विन्टल उखु आवश्यक भएको बताए । “यस याममा पाँच लाख क्विन्टल खरिद गरेका छौँ”, उनले भने , “मिललाई आवश्यक उखु उपलब्ध हुन सकिरहेको छैन ।” सो मिल २०६७ सालदेखि सञ्चालन गर्दै आएको ठगुन्नाले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्