अस्पतालका सेवा सञ्चालन गर्नै मुस्किल

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजदेखि बन्द गरेको छ ।

शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी तथा कर्मचारी सङक्रमित भइसकेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार जिओपिडि हेर्ने चिकित्सकले कोभिडका बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो । अस्पतालले बहिरङ्ग सेवामा चाप घटाउन बिहान ८ः३० बजेबाट जिओपिडि सञ्चालन गरेको थियो ।

छिटो अस्पताल आउने बिरामीका लागि लामो समय कुर्नुपर्ने बाध्यतासमेत हटेको थियो । यस्तै पछि शल्यक्रिया गर्न मिल्ने बिरामीको शल्यक्रिया पनि तत्कालका लागि रोकिएको हो । यसबाट बिरामीलाई समस्या नपर्ने पौडेलको भनाइ छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि सङ्क्रमणको लक्षण देखिएका छन् ।

दैनिक यो सङ्ख्या बढ्दो छ । अन्य विभागमा पनि जनशक्तिको समस्या भए पनि आलोपालो गरेर व्यवस्थापन गरिएको उनले बताए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ठूलो सङ्ख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार नौ चिकित्सक, ६६ स्टाफ नर्ससहित १३६ स्वास्थ्यकर्मी, कर्मचारी सङ्क्रमित भएका छन् । अस्पतालमा धेरै चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा सेवा नरोकिएको भए पनि पहिले झै सञ्चालन गर्न नसकिएको उनले बताए । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुने दर बढ्दै गएको भन्दै खोप सेवा प्रभावित हुनसक्ने बताए । उनले भने , “सङ्क्रमित हुने क्रम बढ्यो, नियमित सेवासँगै खोपमा काम गर्ने जनशक्ति अभाव हुन थालेको छ ।”

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी यही ढङ्गले सङ्क्रमित बढ्दै गयो भने सामान्य अवस्थाका सङ्क्रमित चिकित्सक स्वास्थ्यकर्मीले सङ्क्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउँछन् । उनले भने , “सबै सङ्क्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै पयो नि ।”

चितवन मेडिकल कलेजमा अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी आधा सङ्क्रमित भइसकेको बताए । उनले भने , “सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन्, परीक्षण ग¥यो भने उनीहरुलाई पनि सङ्क्रमण देखिन सक्छ ।” यस्तै अवस्था रहेमा सङ्क्रमितले सङ्क्रमितको उपचार गर्नुको विकल्प नहुने उनको भनाइ छ ।

छोटो समयमै निको भएकाले ठूलो जटिल अवस्था नआउनेमा आफूहरु ढुक्क रहेको न्यौपाने बताउनुहुन्छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार ७३६ जना पुगेको छ । त्यसमध्ये ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरकै आइसोलेशनमा रहेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्