गाउँका सुन्तला बिक्रीबाट शहरमा घडेरी

Ad
  • कालोपाटी सम्बाददाता

पर्वत । यहाँको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यस वर्ष करिब रु पाँच करोडका सुन्तला बिक्री गरेका छन् । अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला बिक्रीबाट गाउँमा रु पाँच करोड भित्र्याएको स्थानीय बजार मारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिए । उक्त गाउँमा गत वर्ष रु तीन करोड भित्रिएको थियो ।

“बोटबाटै प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छौँ,” उनले भने , “पोखरा, मुग्लिन र नारायणगढ लगायतका बजारबाट व्यववसायी आएर सुन्तला खरिद गरे । माग पूरा गर्नै सकिएको छैन । ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको छ । ”

बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन । किसानले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रुपमा लिँदै आएका छन् । न्यूनतम रु पाँच लाखभन्दा थोरै कमाउने कुनै घरै छैनन्,” अध्यक्ष खत्रीले भने , “बढीमा रु १९ लाखसम्म आम्दानी गर्ने परिवारसमेत रहेका छन् । ”

उनले यस वर्ष झन्डै रु १३ लाख आम्दानी गरेको सुनाए । उनका अनुसार गाउँमा सबैभन्दा बढी भक्तबहादुर पाइजाले सुन्ता बिक्री गरेका छन् । उनले यस वर्ष झन्डै रु १६ लाख आम्दानी हुने बताए । सुन्तलाको कमाईले बजारमा घरघडेरी नजोडेका निकै कम छन् । उनका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत तीन वर्षअघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ । शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेसिजनमा बिक्री गर्न सहज भएको स्थानीयवासी कल्पना खत्रीले बताए । तर अधिकांश सुन्तला बोटबाटै बिक्री हुने भएकाले भण्डारण गर्नुपर्ने समस्या नभएको उनको भनाइ छ ।

सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा बर्सेनि क्षेत्रफल विस्तार हुँदै आएको छ । विगत चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यावसायिक सुन्तला खेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

यहाँका अधिकांश कृषक अन्नबाली छाडेर सुन्तला खेतीमा लागेका छन् । यहाँ कोदो र मकै उत्पादन हुने गर्दथ्यो । अहिले भने खेतबारी सबै सुन्तलाको बगानले ढाकिएको छ । सिङ्गो गाउँ नै पहेँलपुर बनेको छ । माघ पहिलो सातादेखि यहाँका सुन्तला बजार जान थालेका हुन् । अधिकांश सुन्तला बजार झरिसकेको र बाँकी रहेका बगैँचामा पनि व्यवसायीहरु आफैँ गएर टिप्न थालेको स्थानीयवासी यामबहादुर गर्बुजाले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्