मिर्गौला पीडितलाई आर्थिक सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । ऋषिङ गाउँपालिका–२ काँहुशिवपुर घर भई हाल व्यासनगरपालिका–३ बस्दै आउनुभएका वीरेन्द्र बरालीलाई बचाउन तनहुँ सुनचाँदी व्यवसायी सङ्घले रु एक लाख ७० हजार ३८५ सहयोग प्रदान गरेको छ ।

दुवै मिर्गौला फेल भएका बरालीको उपचारका लागि आर्थिक अभाव भएपछि सङ्घले आर्थिक सङ्कलन गरी उक्त रकम पीडितलाई प्रदान गरेको हो । सङ्घको अगुवाइमा सङ्कलन भएको उक्त रकम सङ्घका अध्यक्ष विनोदकुमार विक, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका सचिव केशबहादुर सुनार लगायत पदाधिकारीहरुले पीडितलाई हस्तान्तरण गरेका हुन् ।

बरालीको मिर्गौला डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नु परेको थियो । दुवै मिर्गौलाले काम गर्न छोडेपछि अस्पताल भर्ना भएकी बरालीको उपचारमा आर्थिक अभाव हुँदै आएको छ । उनको हाल डायलासिस भइरहेकाले उपचारमा केही हदसम्म भए पनि सहज मिलोस् भनी सङ्घले आर्थिक सङ्कलन गरी सहयोग प्रदान गरिएको जनाएको छ ।

आर्थिक अवस्था कमजोर रहेका बरालीको उपचारका लागि सङ्घमा आबद्ध व्यवसायी, विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सङ्कलित रकम हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष विकले जानकारी दिनुभयो । एक्कासि शरीर सुन्निने र फुलिने हुन थालेपछि स्वास्थ्य परीक्षणका लागि काठमाडौँ स्थित शिक्षण अस्पताल जाँदा मात्रै आफ्नो दुवै मिर्गौला खराब भएको थाहा पाएको बरालीले जानकारी दिनुभयो । हाल उनको पोखरास्थित आस्था किड्नी एन्ड स्पेसलाइज्ड अस्पतालमा डायलासिस हुँदै आएको छ ।

“हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ”, उनले भने , “एकपटक डायलासिस गर्दा र आउँदाजाँदा गरी रु नौ हजार खर्च हुने गरेको छ ।” एक महिनाअघि देखि घाँटीमा फिस्टुला राखी डायलासिस गर्दै आएको बरालीले जानकारी दिनुभयो । तनहुँ सुनचाँदी व्यवसायीले बरालीको मिर्गौला प्रत्यारोपण गर्ने कार्यसम्म निरन्तर सहयोग गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्