पितृ कार्यको खर्च कटाएर मानवसेवा आश्रममा भोजन

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । पछिल्लो समय पितृकार्यमा हुने खर्च कटाएर मानवीय सेवामा समर्पित विभिन्न सङ्घ संस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ ।

समाजका असहाय, अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवं पालनपोषणमा सहयोग पुयाउने लक्ष्यसाथ पितृको स्मरणमा सहयोग गर्ने चलन बढेको हो ।

पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित म्यूजियममार्ग निवासी लक्ष्मी खड्काले आप्mना स्वर्गीय पति अमरबहादुरको १५ औँ पुण्य तिथिमा पोखरास्थित मानवसेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि एक छाक खानाको व्यवस्था गरे । छोरा यमबहादुर र बुहारी पार्वतीसहित भोजन गराउनका लागि आश्रममा पुग्नुभएकी लक्ष्मीले भने , “आकाशलाई छानो र सडकलाई घर बनाएर बस्न बाध्य मानवको उद्धार गरेर उनीहरुको लागि पुनर्रजन्म दिने संस्थालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ ।”

सो परिवारले एक छाक खाना बराबरको नगद रु १५ हजार ५०० आश्रम कास्कीका सहसंयोजक सम्झना बर्तौला र साधिका मनिकला नेपालीलाई हस्तान्तरण गरे । आश्रममा हाल ६५ जना महिला तथा बालबालिका आश्रित छन् । सो आश्रमबाट एक वर्षअघि ९५ जना बुबाहरुलाई पोखरा २५ हेमजास्थित आश्रममा सारिएको छ भने छोरेपाटन आश्रममा हाल महिला र आश्रित बालबालिकासहित ६५ जना रहेका छन् । सहसंयोजक बर्तौलाले जानकारी दिए । “दुई छाक खाना भन्दा पनि आमा र बालबालिकाको औषधि उपचारमा बढी खर्च हुने गरेको छ”, उनले भने ,“सडकबाट उद्धार गरिएका अधिकांश आमाहरु मानसिक रोगी हुनुहुन्छ मासिक औषधिमा मात्र ५० देखि ६० हजार खर्च हुने गरेको छ ।”

सस्थाले आश्रम सञ्चालनका लागि हालै सञ्चालन गरेको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट रु छ लाख भन्दा बढी आर्थिक सङ्कलन भएको आश्रमका केन्द्रीय कोषाध्यक्ष एवं गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार आश्रममा आवद्धहरुको एक छाक खानाका लागि रु १५ हजार ५००, विशेष खानाको लागि २२ हजार ५०० र एक दिनको खानाको लागि ३५ हजार ५०० को व्यवस्था गरिएको छ । २०७४ साल चैत १७ गते पोखरा र आसपासमा कष्टकर जीवन बिताउन बाध्य २३ जना सडक मानवको उद्धार गरेर सञ्चालन गरिएको आश्रमले हालसम्म ८२६ जनालाई सेवा प्रदान गरेको बताउँदै उनले भने , “ २६२ जनालाई पारिवारिक पुनर्मिलन, उपचार पश्चात स्वेच्छाले ३०५ जना घर फर्किए , ५१ जनालाई अन्य शाखामा स्थानान्तरण गरिएको छ, भने आश्रमको संरक्षणमा रहदा ५८ जना आमाबुबाको निधन भइसकेको छ ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्