बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो ।

कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य कार्यमा रोक लगाइएकोे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । यसका साथै जिल्ला प्रशासन कार्यालयले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रशासनले यहाँका सरकारी निकाय तथा स्थानीय तहलाई पत्र लेख्दै कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिश र सङ्घीय सरकारबाट निर्देशन भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको हो । माघ १६ गतेको गृहमन्त्रालयको सचिवस्तरीय निर्णय कार्यान्वयनका लागि प्रशासनले आग्रह गरेको हो । सो निर्णय अनुसार माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय, कलेज सञ्चालन गर्न पाइने छैन् ।

यस्तै विद्यालय, कलेजका पूर्व निर्धारित, जनशक्ति भर्ना, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा र चिकित्सा शिक्षाका सबै प्रयोगात्मक परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै खोप कार्यक्रमलाई जिल्लाभर अभियानकै रुपमा सञ्चालन गर्न र विद्यालयमा सञ्चालन भइरहेको खोप अभियानलाई प्रभावकारी बनाउन प्रशासनले आग्रहसमेत गरेको छ । यहाँका १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो मात्रा दिइँदैछ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म सङ्क्रमणका कारण १९ जनाको मृत्यु भइरहेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्