नेपालको सौन्दर्य उद्योग व्यवसाय नै बन्द हुने अवस्थामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारको गलत नीतिका कारण नेपालको सौन्दर्य उद्योग व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको सौन्दर्य व्यवसायीहरुले बताएका छन् ।

पछिल्लो समय विदेशी वस्तु आयात बढेकाले तरलता अभाव भएको भन्दै सरकारले विलासिताका वस्तुको सूचिमा सौन्दर्य व्यवसायमा प्रयोग हुने बस्तु राख्दै त्यस्ता समान आयातमा एक महिना अगाडिदेखि रोक लगाएको छ । सरकारले सौन्दर्य व्यवसायीहरुसँग समन्वय बिना आयात रोक्ने नीति ल्याएको भन्दै सौन्दर्य व्यवसायीहरुले सौन्दर्यका सामान आयात बन्द हुँदा समग्र उद्योग नै बन्द हुने अवस्थामा पुगेको बताएका छन् । सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले कोरोना महामारीको कारण विगत तीन वर्ष देखि थला परेको नेपालको समग्र सौन्दर्य उद्योग नै सटर बन्द गरेर बन्द गर्न अवस्था आएको बताए ।

उनले सरकारले विगत ५५ वर्षदेखि विदेशबाट आयात गरिएका वस्तुबाट मात्रै उद्योग चलेको विषय अध्ययन बिना नीति बनाउँदा समस्या निम्त्याएको बताए । अध्यक्ष श्रेष्ठले आयातलाई प्रोत्साहन गर्नुपर्छ भन्ने होइन तर ५५ वर्षदेखि सौन्दर्य उद्योगमा विदेशी सामानको हाबी भएको अवस्थामा सौन्दर्यका सामान आयातमा सरकारले रोक लगाउनु गलत नीति भएको बताए । उनले नेपालमा सौन्दर्य उद्योगका लागि सामानको उत्पादन अहिलेसम्म नभएको सबै विदेशकै भर पर्नुपर्ने अवस्था रहेको बताए । लामो समय सौन्दर्यका लागि प्रयोग हुने सामानको आयात रोकिए सौन्दर्य उद्योग नै बन्द हुने जिकिर गरे । सरकारले यस्तो नीति बनाउँदा व्यवसायीसँग नीतिको प्रभावको विषयमा जानकारी लिनु पर्ने बताए ।

अध्यक्ष श्रेष्ठले नेपालको सौन्दर्य व्यवसाय सरकारको कारण छाँयामा परेको बताए । उनले सौन्दर्य उद्योगले पाँच लाख भन्दा बढी मानिसलाई रोजगारी दिएको तथा वार्षिक अबौँ राजश्व बुझाउने उद्योगलाई राज्य उपेक्षा गरेको बताए । कोरोनाबाट सबै भन्दा धेरै प्रभावित क्षेत्र भए पनि राज्यको ढोका बारम्बार ढकढकाउँदा समेत कुनै पनि राहत तथा सहुलियत समेत नदिएको आरोप अध्यक्ष श्रेष्ठले लगाए । त्यस्तै अध्यक्ष श्रेष्ठले सौन्दर्य उद्योग कोरोना महामारीको कारणले विगत तीन वर्ष देखि अपाङ्ग भएको बताए । उनले कोरोना महामारीको कारण सिथिल बनेको सौन्दर्य उद्योग पहिलेकै अवस्थामा पुग्न अझै पाँच वर्ष लाग्न सक्ने बताए । अहिले पनि कोरोना महामारीको तेस्रो भेरियन्टको कारण ग्राहक नै आउन छाडेको बताए ।

अध्यक्ष श्रेष्ठले सरकारले सौन्दर्यको लागि प्रयोग हुने सामान आयातमा लगाएको प्रतिवन्ध सरकारले तत्काल खुला गर्नुपर्ने बताए । आयात बन्द नै गर्ने भए सरकारले नेपालमा नै सौन्दर्य सामग्री उत्पादनको लागि आवश्यक नीति बनाएर लगानी गर्नुपर्ने बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्