अपाङ्गतामैत्री सहित सुविधासम्पन्न बन्दैछन् वडाका कार्यालय भवनहरु

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । महानगरपालिकाले महानगरको प्रशासकीय भवनसँगै वडा कार्यालयका भवन निर्माण गरिरहेको छ । महानगरले बनाएका भवनहरु सुविधासम्पन्न छन् भने केहीमा विद्युतीय भ¥याङसमेत जडान गरिएको छ । नयाँ भवनहरु अपाङ्गतामैत्रीसमेत छन् ।

महानगरका ३३ वडामध्ये ४ वर्षको अवधिमा नौ वडाका कार्यालय भवन निर्माण सम्पन्न भएको र केहीको निर्माण भइरहेको छ । पछिल्लो समय वडा नं २ को भवन निर्माण सम्पन्न भएर सोही भवनबाट सेवा प्रवाह सुरु भएको छ । कूल रु दुई करोड २५ लाख २७ हजार लागतमा निर्माण गरिएको सो भवनको आइतबार महानगर प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । सो अवसरमा उनले स्थानीय सरकारले जनतालाई गणतन्त्रको अनुभूति हुने गरी सहज र छिटोछरितो सेवा प्रदान गर्नुपर्ने बताए ।

विसं २०७४ मा स्थानीय तहको निर्वाचनपछि वडाका नयाँ भवन निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको महानगरले जनाएको छ । जमिन व्यवस्थापन लगायतका समस्याले नयाँ भवन निर्माण रोकिएकाहरुमा पुरानैको स्तरोन्नति गरिएको बताइन्छ । महानगरले हालसम्म वडा नं २ सहित वडा नं ७, ११, १२, १६, १९, २२, ३० र ३२ का नयाँ भवन निर्माण गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार वडा नं ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ । त्यसैगरी महानगरको प्रशासकीय भवनको समेत शिलान्यास गरेर काम सुरु गरिएको छ । पोखरा–९ नयाँबजारस्थित दमकलमार्गमा चार रोपनी क्षेत्रफल जमिनमा सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको हो ।

यसैगरी वडा नं ६, १७ र २६ का भवन निर्माणका लागि प्रक्रिया सुरु गरिएको पौडेलले जानकारी दिए । उनले भने , “प्रशासकीय भवनसँगै वडाका आफ्नै भवनहरु निर्माण महानगरको प्राथमिकतामा छन् । सुविधासम्पन्न कार्यालय भवनबाट सेवा प्रवाहमा सहज हुनेछ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्