अहमदाबाद बम विस्फोटका दोषी ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन जन्मकैद

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अहमदाबाद बम विस्फोट घटनाका दोषी ३८ जनालाई भारतमा फाँसीको सजायँ सुनाइएको छ । १४ वर्ष अघि भएको शृंखलाबद्ध बम विस्फोटमा संलग्न ३८ जनालाई फाँसी र ११ जनालाई आजीवन कारावासको सजाय विशेष अदालतले शुक्रबार सुनाएको हो । भारतीय दण्डसंहिताको धारा ३०२ को प्रावधानअनुसार ४९ दोषीमध्ये ३८ जनालाई उक्त सजाय सुनाइएको हो ।

सन् २००८ मा अहमदाबादमा श्रृखंलाबद्ध विस्फोट भएको थियो । अहमदाबादमा राज्य सरकारद्वारा सञ्चालित सिभिल अस्पताल, अहमदाबाद म्युनिसिपल कर्पोरेसनद्वारा सञ्चालित एलजी अस्पताललगायतका ठाउँमा शृंखलाबद्ध २२ वटा बम विस्फोट भएका थिए । जसमा ५६ जनाको मृत्यु भएको थियो भने करिब  दुई सय जनाभन्दा बढी घाइते भएका थिए । आतंकवादीहरूले २४ वटा बम राखेको भए पनि दुईवटा बम विस्फोट भएका थिएनन् । विशेष न्यायाधीश एआर पटेलले फैसला सुनाउँदै विस्फोटमा मारिएका परिवारलाई एक लाख रुपैयाँ सहयोग दिन पनि आदेश दिएका छन् ।  घटनामा गम्भीर रूपमा घाइते भएकाहरूलाई ५० हजार र बालबालिकालाई २५ हजार दिन भनिएको छ।

उक्त विस्फोटपछि गुजरातको एटीएस अर्थात आतंककारी निरोधी टीमले शंकास्पद मुफ्ती अबु बशीरसँगै ९ जनालाई पक्राउ गरेको थियो । सन् २०१६ मा लगभग आठ वर्षपछि विस्फोटमा संलग्न अर्को अभियुक्त नासिर रंगरेज पनि पक्राउ परेका थिए । विस्फोट लगत्तै गुजरातको सुरेन्द्रनगर जिल्लाबाट तीन जनालाई पक्राउ गरिएको थियो । जसमा हुसैन इब्राहिम, हासिल मोहम्मद र अब्दुल कादिर थिए । उक्त विस्फोटमा अन्य ५० जना पक्राउ परेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्