नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सम्पन्न नवौँ बैठकमा संयुक्तरूपमा जलविद्युत् आयोजना निर्माणका लागि कार्यदलमा सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिए ।

संयुक्त निर्देशक समितिको बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षता गरेका थिए । बैठकमा दुई देशबीच मौजुदा प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, अरुण तेस्रो जलविद्युत् तथा प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायतका विषयमा छलफल भएको थियो । संयुक्त निर्देशक समितिको बैठकमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि अप्रिल २०२२ सम्म नेपाल र भारतको संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको छ ।

भारतमा विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणले पेश गरेको विभिन्न निवेदन आउँदो वर्षायाम अगाडि नै स्वीकृति प्रदान गर्न नेपालले गरेको अनुरोधलाई भारतका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको बैठकमा सहभागी अधिकारीहरुको भनाइ छ ।नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनमा ८५० मेगावाट बराबरको बिजुली बिक्रीका लागि प्रस्ताव गरेको छ । गत कात्तिकदेखि प्राधिकरणले कूल ३९ मेगावाट विद्युत् निर्यात गरेको थियो । प्राधिकरणले गत वर्षदेखि नै बिजुली निर्यातका लागि पहल गर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्