एमसीसी सम्झौंता संसदबाट अनुमोदन गराउन एमालेको पनि सहयोग रहेको महतको दावी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दावी गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष एमालेले औंपचारिक रुपमा सहभागिता नजनाएपनि अनौंपचारिक रुपमा सहयोग गरेको बताएका हुन् ।

उनले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखि संसदबाट पारित गराउन अनौपचारिक ढंगले भएपनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद समेत दिए । सो परियोजना संसदबाट अनुमोदन गराउन परिपक्व, सुझ्बुझ्पूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रशंशा गरेको प्रवक्ता महतको भनाई थियो । प्रवक्ता महतले एमसीसी सम्झौंता पारित गराउन सबै दलको सहयोग रहेसँगै सो बारे जनस्तरमा उठेका भ्रमहरुको पनि निवारण भएको विश्वास व्यक्त गरे । उनले एमसीसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढन आफ्नो पार्टी लागि रहने प्रतिवद्धता समेत व्यक्त गरे । एमसीसी परियोजना विशुद्ध विकास सहयोग भएको उल्लेख गर्दै प्रवक्ता महतले त्यसबारे नकारात्मक दृष्टिकोण राखिरहन आवश्यक नभएको तर्क समेत गरे ।

प्रवक्ता महतले एमसीसीको डकुमेन्ट र संसदबाट पारित व्याख्यात्मक घोषणाले पनि एमसीसीबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नभएको दोहोयाए । प्रवक्ता महतले यो परियोजनाको रकम विद्युत प्रशारण लाईन र सडक परियोजनामा खर्च हुने भन्दै त्यसको कार्यान्वयनमा आफ्नो पार्टी केन्द्रित हुने बताए । यो परियोजना संसदबाट पारित भएसँगै नेपालको आवश्यक्ता अनुसार बाह्य लगानी आउने नयाँ नजिर स्थापित भएको पनि उनले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्