संस्कृत पढाउने विद्यालयमा शिक्षक अभाव

Ad
  • कालोपाटी सम्बाददाता

कालीकोट । कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरुकूल आधारभूत विद्यालयमा संस्कृत पढाउने गुरुको अभाव भएको हो ।

विसं २०७० महायज्ञ लगाएर त्यसबाट उठेको दानबाट माघ २८ गतेदेखि संस्कृत गुरुकूल विद्यालय स्थापना गरिएको थियो । पहिलो चरणमा कक्षा दुई सम्मको अध्यायन अनुमति जिल्ला शिक्षा कार्यालयबाट लिइएकामा हाल कक्षा छ सम्मको अध्यापन हुने भए एक जना पनि संस्कृत शिक्षक नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयचन्द्र अधिकारीले बताए । “विशुद्ध संस्कृत भाषाबाट विद्यार्थीलाई अध्यापन गराउनका लागि गुरुकूल विद्यालयको स्थापना गरेका हौँ उनले भने , “हामीले सरकारी तथा गैरसरकारी निकायको सहयोग नपाउँदा संस्कृत शिक्षक राख्न सकेका छैनौँ ।” विद्यालयमा पाँच कर्मचारी भए पनि संस्कृत पठाउने गुरु नभएको र विद्यालयको भौतिक पूर्वाधारमा पनि समस्या भएको विद्यालयका प्रधानाध्यापक शशि आचार्यले बताए ।

“बेञ्च र डेस्क नहुँदा विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता रहेको छ”, उनले भने , “अहिले बजेट अभाव छ, संस्कृत भाषा अध्ययन गराउने गुरु पनि छैनन् । प्रत्येक वैशाखमा भर्ना लिई विद्यार्थीलाई खाने, बस्ने सुविधासहितको विद्यालय बनाउने सोच हो । त्यसो गर्न सकिएको छैन ।”विद्यालयमा हाल ९२ विद्यार्थी अध्ययनरत रहेको र जिल्लाका रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिकालगायत स्थानीय तहबाट विद्यार्थी भर्ना गरिएको प्रधानाध्यापक आचार्यले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्