गण्डकी प्रदेशका मुुख्यमन्त्रीबाट मटिहानीमा पूजाअर्चना

Ad
  • कालोपाटी सम्बाददाता

महोत्तरी । मधेश प्रदेशको सद्भावना भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मटिहानीका धार्मिकस्थलको अवलोकन र पूजाअर्चना गरेका छन् । तीन दिने भ्रमणको अन्तिम दिन आज मुख्यमन्त्री पोखरेलले मटिहानीस्थित श्री लक्ष्मीनारायण मन्दिरमा र रामायणकालीन लक्ष्मीसागर तलाउमा पूजाअर्चना गरेका हुन् । लक्ष्मीसागर तलाउ त्रेतायुगमा रामसीताको विवाहमा बेदी बनाउन माटो खनिएको पवित्र ठाउँ मानिन्छ ।

पहिले श्री लक्ष्मीनारायण मन्दिर पुगेका पोखरेलले भगवान लक्ष्मीनारायणको पूजाआराधना गरे । त्यसअवसरमा मुलुकभरिकै मठहरुको नायक मठ श्री लक्ष्मीनारायण परिसरको अवलोकन पोखरेलले गरे । मुख्यमन्त्री पोखरेल लक्ष्मीसागर पुग्नुभई पवित्र तलाउको पूजा र आरतीमा सरिक भए । त्यसअवसरमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, मठका मानमहन्थ एवं साधुसन्त र उद्योगी व्यवसायीले मुख्यमन्त्री पोखरेलको हार्दिक स्वागत गरे । मटिहानी भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल विक्रम संवत् १७७५ मा स्थापना भएको हालको राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्दै त्यहाँ बटुकहरुले नियमित आयोजन गर्दै आएका अखण्ड रुद्राभिषेकमा सरिक भए ।

भ्रमणका क्रममा उनले मटिहानीमा निर्मित अत्याधुनिक रङ्गशाला, अतिथिगृह, घण्टाघर र मटिहानी प्रवेशद्वारको अवलोकन गरेका छन् । मटिहानीस्थित नवनिर्मित रङ्गशाला गत मङ्सिर ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पोखरेलसहितको भ्रमणटोलीका सदस्यलाई अतिथिगृहमा आयोजित एक समारोहबीच नगरप्रमुख मण्डलले हार्दिक स्वागत गर्दै दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरे ।

मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको निमन्त्रणामा शनिबार जनकपुर क्षेत्रको भ्रमणमा आएका पोखरेलको आज पोखरा फर्कने कार्यक्रम छ । यसअघि पोखरेलले महोत्तरीको बर्दिबास नगरक्षेत्रका धार्मिकस्थलको भ्रमण गरेका थिए । भ्रमणका क्रममा मधेश प्रदेशको विकास प्रयत्नलाई नजिकबाट नियाल्न पाएको पोखरेलको भनाइ छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्