कृषि कर्जा मेला चैतको दोस्रो साता भरतपुरमा हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुने लागेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्स एसोसिएसन, शिखर इन्सुरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन् । मेलाको रिसर्च पार्टनरको रुपमा थ्री एस फाउन्डेशन रहेको छ ।

उक्त मेला तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्याङ्क छ । आयोजना हुने कृषि कर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको मेला संयोजक सुस्मा शर्माले बताइन् । मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने शर्माको भनाई छ । यसैगरी बैंकहरुलाई कृषि कर्जा व्यवसाय विस्तारमार्फत बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नीति निर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरुको उपस्थितिमा कृषि कर्जाको राष्ट्रिय संवाद एवम् कार्यशाला सञ्चालन गरी आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्याउने र कृषक, बैंक, सेवाप्रदायक र नीति निर्माताबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्य रहेको उनको भनाई छ ।

नेपालका बैंकहरुले हाल करिब ३ खर्ब जति मात्रै कृषि क्षेत्रमा लगानी गरिरहेको कृषि विकास बैंकका उपकार्यकारी निर्देशक बाबुकाजी थापाले बताए । नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर भएको भन्दै थापाले कृषिको जिडिपीमा योगदान २५.८ प्रतिशत रहेको उल्लेख गरे । नेपालको उब्जाउ जमिनको २१ प्रतिशत मात्रै उपयोग भइरहेको बताउँदै थापाले उत्पादन क्षेत्र बढाउनु पर्नेमा जोड दिए । ब्याज, अनुदानमा मात्रै १३ अर्ब राज्यको खर्च भए पनि उपलब्धि कमजोर भएको उनको भनाई थियो । जसका कारण चामल, दाल, चिनी, फलफुल, तरकारी लगायतका वस्तु ठूलो मात्रामा आयात भइरहेको उनले दृष्टान्त प्रस्तुत गरे ।

धितोको अनिवार्यता र झण्झाटिलो प्रकृयाले कृषकहरुले कृषि कर्जा लिन नसकेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले बताए । सीप, क्षमता र योजना हुँदा पनि धितोकै कारण काम गर्न नसकि खुम्चिनु परेको उनको भनाई छ । मेलाको मुख्य प्रायोजक सलोम एग्रिकल्चर प्रा.लि.का निर्देशक श्रीकृष्ण अधिकारीले बैंक र वित्तिय संस्थाकै सहयोगमा आफू कृषि उद्यमी बन्न सफल भएको बताएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्