मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्थे । तर पछिल्ला वर्षहरुमा उहाँलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ ।

“विसं २०५३ देखि दुई गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सम्म एउटा गोलाबाट ८० देखि ९० किलोसम्म मह काढ्थेँ”, उनले भने , “अहिले निरन्तर घट्दै गएर वार्षिक २५ किलो मह पनि उत्पादन हुँदैन ।” खर्च कटाएर एउटै गोलाबाट रु १० हजारसम्म आम्दानी गर्नुभएका उनले अहिले मुस्किलले रु पाँच हजार पनि बचाउ हुन्न । यसरी महको उत्पादकत्व घट्दै गएपछि उहाँले मौरीको सङ्ख्यासमेत घटाउँदै आएका छन्। “पाँच वर्ष अगाडि ५०० भन्दा बढी गोला मौरी चर्न जान्थ्यो”, उनले भने, “बजार र उत्पादनको समस्याले गर्दा मौरी घटाउँदै २०० गोलामा झारेको छु ।” उहाँले वार्षिक २५ टनका हाराहारीमा मह उत्पादन गर्दछन् । उनले वार्षिक ७० टन अरुको मह सङ्कलन गरेर बिक्रीसमेत गर्ने बताए । महमा फाइदा भए पनि विगतको भन्दा लागत मूल्य पनि बढी हुँदै आएको उनको भनाइ छ ।

चरन क्षेत्रको अभाव, वन विनाश, वन अतिक्रमण, बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभावलगायत कारण बर्सेनि मह उत्पादन घट्दै गएको बताइएको छ । विकास निर्माणका क्रममा स्थानीय वनजङ्गलमा चिउरी, रुदिलोलगायतका बोटबिरुवा नास हुँदै जाँदा किसानहरु मौरी चराउन देशका विभिन्न भाग पुग्ने गरेको छन् । “पहिलो सिजनमा चिउरी र तोरीको लागि दाङ र प्युठान, यसपछि क्रमशः कपिलवस्तु, चितवन, बर्दिबास, सर्लाहीलगायतका पूर्वका जिल्लामा मौरी चराउन लैजान्छौँ”, १५० गोला मौरीपालन गर्दै आएका रत्ननगरका सुरेन्द्र मानन्धर भने , “मौरीका लागि चरन क्षेत्र अभाव हुँदा वर्षमा १२ स्थानमा सार्नुपर्छ ।” चरनका लागि उनीहरुले प्रतिगोला रु ५० देखि १०० सम्म सामुदायिक वनलाई दिने गरेका छन् ।

बढ्दो विषादीको प्रयोगका कारण पनि मौरीपालक किसान समस्यामा परेका छन् । विसं २०५२ देखि मौरीपालन गर्दै आएका मेघबहादुर खत्री मौरीपालक किसानका लागि चरण क्षेत्रको समस्या नै प्रमुख चुनौती रहेको बताउँछन् । “मेरोमा २५० गोला मौरी छन् । यहाँ राखेर उत्पादन दिन सकिँदैन । चरन भएको क्षेत्रमा स्थानीयले लैजान दिँदैनन”, उनले भने , “गत वर्ष तोरीमा हालेको विषादीको कारण १० गोला मौरी नष्ट भए ।” पछिल्लो समय जिल्लामा मौरीपालक किसान बढ्दै गएका छन् । यहाँ ५०० भन्दा बढी किसान छन् । हालसम्म जिल्लामा ३० हजार गोला मौरी रहेको अनुमान छ । तीन वर्षका तुलनामा मौरीका गोला ३० प्रतिशतले बढेको छ तर, किसानको आकर्षण बढेपनि चरणलगायतका कारण महको उत्पादकत्व भने घट्दै गएको मौरीपालन महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेल बताउँछन् ।

“चितवनमा मेलिफेरा मौरीको २९ हजार गोला सङ्ख्या छ । विसं २०७५ मा प्रतिगोला वार्षिक ५५ किलोसम्म उत्पादन हुन्थ्या”, उनले भन्नुभयो, “२०७६-०७७ मा १८ किलोको हाराहारीमा उत्पादन थियो । २०७७-०७८ मा २३ किलो आयो । अहिले पनि २५ किलो कट्ने सम्भावना कम छ ।” जिल्लामा तीन वर्षअघिसम्म वर्षिक आठ हजार मेट्रिक टन महको उत्पादन हुँदै आएको थियो । त्यसपछि घट्दै अहिले चार हजार मेट्रिक टन मात्रै उत्पादन भएको सरकारी तथ्याङ्क छ । महको उत्पादन वृद्धि गर्नका लागि सामुदायिक वनसँग मिलेर चिउरी, रुदिलोलगायतका बिरुवा सार्ने र गुणस्तरीय रानी मौरीको आयात गर्ने योजना रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख धनबहादुर थापाले बताए । “मौरीको सङ्ख्या बढ्दै गएको छ । चरण क्षेत्र घट्दै छ ।

यसलाई मध्यनजर गर्दै चिउरीलागयतका बिरुवा रोप्नका लागि सामुदायिक वनसँग परामर्श गरेर मौरी चरणको व्यवस्थापनको कार्यक्रम गर्दै छौँ”, उनले भने , “रानी मौरीको गुणस्तर घट्दै गएको पाइएको छ । प्रजनन विकासका लागि मौरी विकास कार्यालयसँग मिलेर विदेशबाट रानी मौरी ल्याएर किसानलाई दिने तयारी गर्दैछौँ ।” मौरीपालक किसानको क्षमतामा अभिवृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाउने जानकारी दिए । नेपालमा गत वर्ष तीन हजार ९९६ मेट्रिक टन मह उत्पादन भएको थियो तर, खपतका दृष्टिले ज्यादै न्यून हो । यहाँ वार्षिक एक हजार मेट्रिक टन मह बाहिरी मुलुकबाट आयात हुँदै आएको छ । उत्पादन बढाउनका लागि सामुदायिक वनसँग मिलेर फूल फुल्ने बिरुवा रोप्ने काम भइरहेको मौरीपालन विकास कार्यालय भण्डाराका प्रमुख गोविन्दप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार ३० हजार चिउरीका बिरुवा रोप्ने तयारी छ । वार्षिकरुपमा मौरीपालक किसान थपिँदै जाँदा मौरीका गोलामा भने वृद्धि हुँदै गएको उनले बताए । सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ‘मौरी जोन’ मार्फत अनुदान तथा प्राविधिक सहयोग गरेपछि किसान मौरीपालनमा उत्साही भएका उनको भनाइ छ । गुणस्तरीय रानीको विकाससँगै चरनक्षेत्रको विस्तार गर्ने हो भने महको उत्पादन बढाउन सकिने सरोकारवाला बताउँछन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्