‘नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुन्छ’ : अध्यक्ष दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

राप्ती । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताएका छन् । राप्ती नगरपालिकामा निर्माण भएको १३२-३३-११ केभी हर्दी विद्युत् सवस्टेसनको आज उद्घाटन गर्दै उनले ऊर्जा उत्पादनको क्षेत्रले क्रान्तिकारी छलाङ मारिरहेको बताए ।

माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहाँलिलाग्दो अवस्थाबाट मुक्त भएको जिकिर गर्दै उले यसलाई सरकारले ऊर्जाखानीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । अथाहा ऊर्जा उत्पादन, यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने दाहालको भनाइ छ । चितवनमा अबको ५० वर्षलाई धान्नेगरी ठूला–ठूला भौतिक पूर्वाधारका योजना बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह गरे । सो अवसरमा प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकीकृत गरी विकास प्राधिकरण निर्माण गरेर यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको बताए ।

विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने उल्लेख गर्दै उले सबैको सामूहिक प्रयासले मात्र उपलब्धि हासिल हुने बताए । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले २६ हजार न्यून विद्युत् खपत गर्ने उपभोक्तालाई सरकारले निःशुल्क बिजुली उपलब्ध गराएको जानकारी दिए । कृषि प्रयोजनका लागि खपत हुने विद्युत्मा ५० प्रतिशत छुट दिने काम पनि आफैले गरेको भन्दै उनले विद्युत् महसुल कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयले प्रयत्न गरिरहेको बताए । पेट्रोलियम पदार्थको खपत घटाएर विद्युतीय सामग्री तथा विद्युतीय सवारी साधनमा आकर्षण बढाउन सरकारले काम गरिरहेको मन्त्री भुषालको भनाइ छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष घिसिङले नेपाल विद्युत् प्राधिकरणले ५० वर्षे कार्ययोजना बनाइ काम अगाडि बढाएको जनाउँदै पूर्वाधार निर्माणमा सबैले सहयोग गर्न आग्रह गरे । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्